• Menu

कहिले खुल्ने, कहिले बन्द हुने तातोपानी नाकाको अनिश्चितताले सीमापार व्यवसायी मारमा

नेपाल प्रफिट

२०८३ मंसिर १, मंगलबार १५:२३

कहिले खुल्ने, कहिले बन्द हुने तातोपानी नाकाको अनिश्चितताले सीमापार व्यवसायी मारमा

सिन्धुपाल्चोक । नेपाल-चीन व्यापारको महत्वपूर्ण मार्ग तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा व्यवसायीहरू चिन्तित बनेका छन्। लामो समयदेखि नाका नियमित सञ्चालनमा नआउँदा व्यापार-व्यवसाय प्रभावित भएको भन्दै उद्योगी, व्यवसायी तथा स्थानीय बासिन्दाले सरकारसँग नाका तत्काल खुलाउन माग गरेका छन्।

तातोपानी नाका सञ्चालनका विषयमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद भरतप्रसाद पराजुलीले आयोजना गरेको सर्वपक्षीय बृहत् अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले नाका सञ्चालनमा सरकारको प्रभावकारी पहल आवश्यक रहेको बताएका हुन्।

२०७२ सालको भूकम्पपछि पटकपटक बन्द हुँदै आएको नाका नियमित सञ्चालनमा ल्याउन चीनले पर्याप्त चासो नदेखाएको व्यवसायीहरूको गुनासो छ। उनीहरूले सरकारले बेइजिङसँग प्रत्यक्ष संवाद गरी नाका अवरुद्ध हुनुको कारणबारे स्पष्ट जवाफ माग्नुपर्ने बताएका छन्।

सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले नाका नियमित सञ्चालनमा आउने आशा व्यवसायीले गुमाउँदै गएको बताए । उनले सरकारले उच्चस्तरीय पहल नगरे व्यवसायीहरू तातोपानी नाकाबाट हुने व्यापारबाटै पलायन हुनुपर्ने अवस्था आउने उल्लेख गरे ।

कार्यक्रममा नाका अवरुद्ध हुनुका कारण, व्यवसायीले भोग्नुपरेका समस्या र आगामी दिनमा अपनाउनुपर्ने रणनीतिबारे छलफल भएको थियो।

नेपाल हिमालय सीमापार वाणिज्य संघका उपाध्यक्ष भरत कार्कीले तातोपानी नाकाका लागि सामान लोड गरेर पठाउँदा नाकामा पुग्ने समयमा अचानक बन्द हुने समस्या रहेको बताए । बाध्य भएर केरुङ नाकातर्फ सामान पठाउँदा त्यहाँ पनि विभिन्न समस्या आउने र पुनः अर्को विकल्प खोज्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो।

नेपाल ट्रान्स-हिमालयन सीमा व्यापार संघका प्रतिनिधि रामचन्द्र पौडासैनीले चीनसँग प्रत्यक्ष कूटनीतिक संवाद गर्नुपर्नेमा जोड दिए । आवश्यक परे सरकारी प्रतिनिधिमण्डल नै चीन पठाएर वार्ता गर्नुपर्ने उनको सुझाव छ।

प्रधानमन्त्री, परराष्ट्रमन्त्री वा चीनस्थित नेपाली राजदूतमार्फत उच्चस्तरीय पहल गरी नाका सञ्चालनमा ल्याउनुपर्ने उनले बताए । तातोपानी नाकाको महत्वबारे चिनियाँ सरकारलाई बुझाउन र यसबाट कुनै सुरक्षा खतरा नरहेको विश्वास दिलाउन पनि आवश्यक रहेको उनको भनाइ थियो।

नेपाल हिमालय सीमापार वाणिज्य संघका निवर्तमान अध्यक्ष अशोककुमार श्रेष्ठले नाका बन्दप्रायः हुँदा व्यवसायी ठूलो मारमा परेको बताए । उनले नाकाको अनिश्चितताले व्यवसायीलाई मात्र नभई राष्ट्रिय स्तरमै वस्तुको आपूर्तिमा असर पार्न सक्ने उल्लेख गरे ।

उनले नाका क्षेत्रमा पहिरो रोकथाम, सडक स्तरोन्नति तथा सरकार-सरकार (जिटुजी) तहमा वार्ता गर्नुपर्ने सुझाव दिए ।

भोटेकोशी गाउँपालिका- २ का वडाध्यक्ष कुमार श्रेष्ठले अन्तर्राष्ट्रिय महत्वको नाका सञ्चालनमा ल्याउन सरकारले पर्याप्त चासो नदेखाएको भन्दै असन्तुष्टि व्यक्त गरे । पटकपटक सरकार तथा मन्त्रीहरूको ध्यानाकर्षण गराउनुका साथै चिनियाँ अधिकारीहरूसँग पनि छलफल भइरहेको उनले जानकारी दिए । चिनियाँ अधिकारीहरूले नेपाल सरकारले नै नाका सञ्चालनका लागि चासो नदेखाएको बताउने गरेको उनको भनाइ थियो।

कार्यक्रमका आयोजक सांसद पराजुलीले सरोकारवालाको आवाज सरकारसमक्ष पुर्‍याउने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको बताए । उनले बजारमा चलेका हल्लाको पछि नलाग्न आग्रह गर्दै आफूले तातोपानी नाका र लिपिङ क्षेत्र पुगेर सीमापारिका चिनियाँ संरचनाको प्रत्यक्ष अवलोकन गरेको जानकारी दिए ।

चीन सरकारले भूकम्पबाट क्षतिग्रस्त खासालाई अत्याधुनिक प्रविधियुक्त ‘स्मार्ट सिटी’का रूपमा विकास गर्ने उद्देश्यले विभिन्न संरचना निर्माण गरिरहेको आफूले देखेको उनले बताए ।

नेपाल-चीन व्यापारका लागि छोटो दूरीको महत्वपूर्ण नाका मानिने तातोपानीको अनिश्चित सञ्चालनले स्थानीय अर्थतन्त्र, व्यवसायीको लगानी र आपूर्ति व्यवस्थामा असर पारिरहेको भन्दै सरोकारवालाले यसको नियमित सञ्चालनका लागि सरकारसँग प्रभावकारी कूटनीतिक तथा प्रशासनिक पहलको माग गरेका छन्। रासस