म्याग्दी । मनसुनजन्य विपद्ले म्याग्दीका जलविद्युत आयोजनाको विद्युत उत्पादन, प्रसारण र निर्माण कार्य प्रभावित बनाएको छ ।
कालीगण्डकी र म्याग्दी नदी तथा तिनका सहायक खोलामा आएको बाढीपहिरोले सञ्चालनमा रहेका र निर्माणाधीन आयोजनाका बाँध, विद्युतगृह, सुरुङ, प्रसारण लाइन र पहुँचमार्गमा क्षति पुर्याएको हो ।
विपद्का कारण केही आयोजना पूर्ण रूपमा बन्द भएका छन् भने केहीको परीक्षण उत्पादन र निर्माण कार्य प्रभावित भएको छ । निर्माणाधीन आयोजनामा निर्माण सामग्री तथा उपकरण ढुवानी अवरुद्ध हुँदा कामको गति सुस्त भएको छ । यसले आयोजना सम्पन्न हुने अवधि लम्बिनुका साथै निर्माण लागत बढ्ने जोखिम बढाएको छ ।
कालीगण्डकी नदीको कटानले २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गत दाना-खुर्कोट प्रसारण लाइनका अन्नपूर्ण गाउँपालिका-१ दोबामा दुई वटा र रातोपानीमा एउटा टावर बगाएको छ । धिरच्याङको टावरमा आंशिक क्षति पुगेको छ भने तिप्ल्याङ क्षेत्रको अर्को टावर जोखिममा परेको छ ।
प्रसारण लाइन अवरुद्ध भएपछि उत्तरी म्याग्दीका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा जोड्न समस्या भएको थियो । नेपाल विद्युत प्राधिकरणको पोखरास्थित ग्रिड कार्यालयका प्रमुख रोशन खड्काका अनुसार भिरकाटेमा अस्थायी टावर निर्माण गरी करिब दुई किलोमिटर तार तानेर गत असोज ३१ गतेदेखि विद्युत आपूर्ति पुनस्सञ्चालन गरिएको थियो । क्षतिग्रस्त टावर र प्रसारण लाइनको स्थायी पुनर्निर्माण प्रक्रिया अघि बढाइएको छ ।
अन्नपूर्ण गाउँपालिका-४ नारच्याङका घलेम्दीखोला, म्रिस्त्रीखोला, निलगिरी-१, नीलगिरी-२ र रेलेखोलाका साथै मुस्ताङको थापाखोला जलविद्युत आयोजनाको विद्युत यही प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा जोडिँदै आएको छ ।
बाढीपहिरोले अन्नपूर्ण गाउँपालिकाका दुई जलविद्युत आयोजना बन्द भएका छन् । रेलेखर्क क्षेत्रबाट आएको बाढीले बाँधमा गेग्रान थुपारेपछि छ मेगावाट क्षमताको रेलेखोला आयोजना बन्द भएको आयोजनाका प्रतिनिधि होमनाथ पाण्डेले बताए । त्यस्तै, १४ मेगावाट क्षमताको घारखोला आयोजनाको विद्युतगृह गत साउन २६ गतेको सुक्खा पहिरोले पुरिएको थियो ।
त्यसपछि गत असोजको बाढीपहिरोले बाँधमा थप क्षति पुर्याएको छ । विद्युतगृह पुरिँदा एक जनाको मृत्यु र एक जना घाइते भएका थिए । आयोजनाको पुनर्निर्माण तयारी भइरहेको र प्रारम्भिक अनुमानअनुसार एक अर्बभन्दा बढी क्षति भएको म्याग्दी हाइड्रोपावरका प्रशासन प्रमुख अनिल तिवारीले बताए ।
कालीगण्डकी बेसीनमा निर्माणाधीन १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज र ६६.३ मेगावाटको मध्यकालीगण्डकी आयोजनाको निर्माण डेढ महिनादेखि प्रभावित भएको छ । कालीगण्डकी गर्जको मुस्ताङको घाँसास्थित थाप्लामा रहेको बाँध निर्माणस्थलमा बाढीले गेग्रान थुपारेपछि काम रोकिएको आयोजनाका वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठले बताए ।
मध्यकालीगण्डकी आयोजनाको सुकेबगरस्थित बाँध, सुरुङ, आवास, मेसिनरी, उपकरण, निर्माण सामग्री, डिजेल ट्यांकरमा बाढीले क्षति पुर्याएको प्रवर्धक हाइड्रो सपोर्ट प्रालिको लगानीकर्ता आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । बाढीले निर्माणस्थलको डाइभर्सन भत्काउनुका साथै नागढुंगा र रातोपानीका आवास भवन तथा नौलीबगरस्थित पहुँचमार्ग क्षति गरेको छ ।
रघुगङ्गा गाउँपालिका-३ तिल्केनीचौरस्थित विद्युतगृह क्षेत्रमा कालीगण्डकी नदीको कटानले क्षति पुर्याउँदा ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको परीक्षण अवधि लम्बिएको छ । टेलरेस गेट र स्वीचयार्ड नजिकको क्षेत्रमा क्षति पुग्नुका साथै विद्युतगृहमा पानी पसेर डुबान भएको थियो । हाल २०/२० मेगावाट क्षमताका दुई युनिट आलोपालो सञ्चालन गरी परीक्षण उत्पादन भइरहेको आयोजनाका प्रबन्ध सञ्चालक गणेश केसीले बताए ।
म्याग्दीखोला बेसीनमा निर्माणाधीन आयोजनामा पनि पहुँचमार्ग र ढुवानीको समस्या देखिएको छ । घुमाउने, बालौटे, बाङ्गेपहिरो, इल्पु र शिवरात्रि खोलाको बाढीपहिरोले निर्माण सामग्री तथा उपकरण ढुवानी प्रभावित भएको अपर म्याग्दीखोला-१ का आयोजना प्रमुख ज्योतिकुमार केसीले बताए ।
कूल ६० प्रतिशत भौतिक प्रगति भएको माथिल्लो म्याग्दी आयोजनाको निर्माणमा असर परेको छ । दरखोलालगायतका आयोजनाको सडकका विभिन्न स्थानमा पहिरो खस्दा निर्माण सामग्री ढुवानी गर्न समस्या भएको छ ।
यद्यपि, राहुघाट करिडोरका अपर राहुघाट, मङ्गले-चिमखोला-राहुघाट, अपर ठूलोखोला र ठूलोखोला जलविद्युत आयोजनाको उत्पादन नियमित रहेको छ । बाढीपहिरोले जलविद्युत आयोजनाका मुख्य संरचनासँगै प्रसारण लाइन, पहुँचमार्ग, निर्माण सामग्री भण्डारणस्थल र आवास संरचनासमेत जोखिममा रहेको देखाएको छ ।
जलविद्युत क्षेत्रमा बढ्दो लगानीको सुरक्षा गर्न नदी कटान नियन्त्रण, सुरक्षित तटबन्ध, वैकल्पिक पहुँचमार्ग, प्रसारण टावरको संरक्षण र विपद् पूर्वतयारीलाई आयोजना निर्माण तथा सञ्चालनको अभिन्न अङ्ग बनाउनुपर्ने आवश्यकता देखिएको छ । रासस