• Menu

सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको फाइनलमा

नेपाल प्रफिट

२०८३ मंसिर १, मंगलबार २०:४५

सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको फाइनलमा

काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि रक्षा गर्ने सम्भावना बलियो बनाएको हो ।

सुदूरपश्चिमले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले १६.४ ओभरमै ४ विकेट गुमाएर पूरा गर्‍यो । जितका नायक बनेका डिकवेला ३७ बलमा ७ चौका र २ छक्कासहित ५९ रनमा अविजित रहे ।

डिकवेलाको यो इनिङ्सको कथा दोस्रो ओभरबाटै सुरु भएको थियो । उनी खाता खोल्नुअघि नै सुदूरपश्चिमका बलर अविनाश बोहराले क्याच छाडेर उनलाई जीवनदान दिएका थिए । तर, त्यही गल्ती सुदूरपश्चिमका लागि महँगो साबित भयो । जीवनदानको पूरा सदुपयोग गर्दै डिकवेलाले अर्धशतक बनाए र टोलीलाई फाइनलसम्म पुर्‍याए ।

२४ रनमै दुई विकेट गुमाएर दबाबमा परेको लुम्बिनीलाई डिकवेला र कप्तान रोहित पौडेलले सम्हालेका थिए । यी दुईले तेस्रो विकेटका लागि ३८ रनको साझेदारी गरे । रोहितले २८ बलमा २१ रन बनाए । ओपनर डार्शी सर्ट शून्य र आसिफ शेख ४ रनमा आउट भएका थिए ।

त्यसपछि सन्दीप जोरा ८ रनमा पवेलियन फर्किए पनि डिकवेला र दिलीप नाथले टोलीलाई जितसम्म पुर्‍याए । दिलीपले १२ बलमा अविजित १० रन बनाउँदै विजयी छक्का प्रहार गरे ।

सुदूरपश्चिमका थरिन्दु रत्नायकेले दुई विकेट लिए भने स्कट कुगेलेइन र हेमन्त धामीले एक-एक विकेट हात पारे ।

१०५ रनमै रोकियो सुदूरपश्चिम

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर लुम्बिनीले पहिले बलिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ८ विकेट गुमाएर १०५ रन मात्र बनाउन सक्यो ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५२ रन बनाए । उनले ५१ बलमा ३ चौका र एक छक्का प्रहार गरे । इशान पाण्डेले ३३ बलमा २७ रन जोड्दै दीपेन्द्रलाई साथ दिए । यी दुईले चौथो विकेटका लागि ६४ रनको साझेदारी गरेका थिए ।

तर, अन्य ब्याटरले उल्लेखनीय योगदान दिन नसक्दा सुदूरपश्चिम ठूलो योगफल बनाउन असफल भयो । पहिलो बलमै जर्ज मन्से आउट भएपछि सुरु भएको विकेट पतनले टोलीलाई निरन्तर दबाबमा राख्यो ।

तानुका दबारे पनि तेस्रो ओभरमा आउट भए । विनोद भण्डारीलाई अभिशेष गौतमले पवेलियन पठाएपछि सुदूरपश्चिम ३.१ ओभरमा ८ रनमै तीन विकेट गुमाउने अवस्थामा पुगेको थियो ।

दीपेन्द्र र इशानको साझेदारीले टोलीलाई संकटबाट बाहिर निकाल्ने प्रयास गरे पनि इशान रनआउट भएपछि फेरि विकेट पतन सुरु भयो । थरिन्दु रत्नायके र आरिफ शेख पनि सस्तैमा आउट भए । अन्तिम ओभरमा दीपेन्द्र आउट हुँदा सुदूरपश्चिमको ठूलो स्कोर बनाउने आशा समाप्त भयो ।

लुम्बिनीका रुबेन ट्रम्पलम्यानले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा १२ रन खर्चेर दुई विकेट लिए । शेर मल्लले पनि दुई विकेट हात पारे । किशोर महतो र अभिशेष गौतमले एक-एक विकेट लिए ।

सुदूरपश्चिमलाई अझै फाइनल पुग्ने अवसर

यस जितसँगै लुम्बिनी लगातार दोस्रो पटक एनपीएलको फाइनलमा पुगेको छ । साविक विजेता लुम्बिनी अब उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदान उत्रनेछ ।

पराजित भए पनि सुदूरपश्चिमको उपाधि यात्रामा पूर्णविराम लागेको छैन । उसले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने अवसर पाउनेछ । एलिमिनेटरमा बुधबार काठमाडौं गोर्खाज र चितवन राइनोज आमनेसामने हुँदैछन् ।

दुई पटक उपविजेता बनेको सुदूरपश्चिमका लागि अब दोस्रो क्वालिफायर फाइनल प्रवेशको अर्को अवसर हुनेछ ।