• Menu

व्यावसायिक कारोबार नबढ्दा सुस्त बन्यो कोइलाबास भन्सार, ३ महिनामा ४१ लाखमात्रै राजस्व संकलन

नेपाल प्रफिट

२०८३ मंसिर १, मंगलबार १६:५६

व्यावसायिक कारोबार नबढ्दा सुस्त बन्यो कोइलाबास भन्सार, ३ महिनामा ४१ लाखमात्रै राजस्व संकलन

दाङ । दाङको कोइलाबास भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा लक्ष्यको ९१.८६ प्रतिशत मात्र राजस्व संकलन गरेको छ ।

भन्सार कार्यालयका प्रमुख लोकबहादुर विष्टका अनुसार आर्थिक वर्ष २०८३/८४ को साउनदेखि असोजसम्म ४४ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ४१ लाख मात्रै संकलन भएको छ ।

नेपाल-भारत सीमानाकामा आवतजावत घट्दा भारतीय सवारीसाधनबाट प्राप्त हुने राजस्व प्रभावित भएपछि लक्ष्य पूरा हुन नसकेको हो । कार्यालयका अनुसार साउनमा १३ लाखको लक्ष्य राखिएकोमा ११ लाख, भदौमा १४ लाख ८९ हजारको लक्ष्य रहेकामा आठ लाख ४० हजार र असोजमा रु १६ लाखको लक्ष्य रहेकोमा आठ लाख ५१ हजार मात्र राजस्व उठेको थियो ।

कार्यालयले असोज मसान्तसम्म मुद्दा लिलामीबाट १३ लाख राजस्व संकलन गरेको जनाएको छ । कोइलाबास भन्सारको प्रमुख राजस्व स्रोत भारतीय सवारीसाधनको अस्थायी पैठारी रहेको उनले बताए । उनले भने, ‘सामान ल्याउने थोरै मात्रै छन् । नजिकैका नागरिकले मात्र सामान ल्याउँछन् । व्यापारीले यहाँबाट सामान ल्याउँदैनन् ।’

कार्यालयका अनुसार भारतबाट नेपाल प्रवेश गर्ने चारपाङ्ग्रे सवारीसाधनबाट दैनिक ६०० र मोटरसाइकलबाट २०० राजस्व लिने गरिएको छ । कोइलाबासस्थित रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर र दाङको चौघेरा मन्दिरलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रमा घुमफिर र पूजापाठका लागि आउने भारतीय नागरिकका सवारीसाधनबाट पनि राजस्व उठ्ने गरेको छ ।

प्रमुख विष्टले भने, ‘यहाँ उठ्ने राजस्व भनेकै सवारीसाधनबाट उठ्ने कर हो ।’ दाङ, रोल्पा र प्युठान क्षेत्रबाट दूरीका हिसाबले छोटो भए पनि व्यावसायिक कारोबारका लागि नाकाको आकर्षण बढ्न नसकेको पाइएको छ ।

पछिल्लो समय सडक सञ्जालमा सुधार हुँदै गए पनि आवश्यक भन्सार पूर्वाधार र सरकारी पहलको अभावमा नाकाको व्यावसायिक सम्भावना उपयोग हुन नसकेको व्यवसायीको भनाइ छ ।

नेपाल भारत सीमा क्षेत्रमा आवतजावतमा कडाइ, वैदेशिक पर्यटकको संख्या न्यून र व्यावसायिक कारोबार विस्तार हुन नसक्दा भन्सारको राजस्व प्रभावित भएको जनाइएको छ । रासस