• Menu

कर तिर्नु असल नागरिकको पहिचान हो : अध्यक्ष केसी

नेपाल प्रफिट

२०८३ मंसिर १, मंगलबार १३:४०

कर तिर्नु असल नागरिकको पहिचान हो : अध्यक्ष केसी

दाङ  । उद्योग वाणिज्य संघ दाङका अध्यक्ष विनील केसीले कर तिर्नु असल नागरिकको पहिचान भएको बताएका छन् । नागरिकबाट प्राप्त करले नै मुलुकको समृद्धिमा योगदान पुग्ने उनको भनाइ छ।

पन्ध्रौँ राष्ट्रिय कर दिवस-२०८३ का अवसरमा आन्तरिक राजस्व कार्यालय तुलसीपुरले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष केसीले कर तिर्ने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय कर दिवसका अवसरमा कार्यालयले करसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभातफेरि कार्यक्रम आयोजना गरेको थियो। तुलसीपुरस्थित त्रिसिदेश्वरी मन्दिरको धर्मशालामा रहेको कार्यालय परिसरबाट सुरु भएको प्रभातफेरिले बजार परिक्रमा गरी कोणसभामा परिणत भएको थियो।

कार्यक्रममा सहभागी अन्य वक्ताहरूले कर तिर्ने संस्कृतिको विकास र कर प्रणालीलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिएका थिए।

सो अवसरमा कर अधिकृत उपेन्द्र पुनले कर प्रशासनले करदाताको हितलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले करबाटै देश विकास सम्भव हुने भएकाले सबै उद्योगी, व्यवसायी तथा व्यापारीलाई राज्यले तोकेको मापदण्डअनुसार समयमै कर भुक्तानी गर्न आग्रह गरे ।

कार्यक्रममा उद्योगी, व्यवसायी तथा सरकारी प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

आन्तरिक राजस्व कार्यालय तुलसीपुरले मंसिर ७ गते विशेष कार्यक्रम आयोजना गरी उत्कृष्ट करदातालाई सम्मान गर्दै कर सप्ताह समापन गर्ने जनाएको छ।

लुम्बिनी प्रदेशका दाङ, रुकुम पूर्व, रोल्पा र प्युठान तथा कर्णाली प्रदेशका सल्यान र पश्चिम रुकुम कार्यक्षेत्र रहेको यस कार्यालयअन्तर्गत करिब एक लाख करदाता रहेका छन्।