एजेन्सी । लागुऔषध तस्कर र राजनीतिज्ञबीचको कथित सम्बन्धबारे समाचार सार्वजनिक गर्दै आएका कोस्टारिकाका स्वतन्त्र पत्रकार क्यामिलो रोड्रिगेजको गोली हानी हत्या गरिएको छ।
राजधानी सान जोसेनजिकै रहेको सान्टो डोमिङ्गो डे हेरेडिया सहरमा सोमबार गाडी चलाइरहेका ५० वर्षीय रोड्रिगेजमाथि मोटरसाइकलमा आएका दुई व्यक्तिले गोली प्रहार गरेको प्रहरी प्रमुख राउल रिभेराले जानकारी दिएका छन् ।
रोड्रिगेजले यसअघि लागुऔषध तस्कर समूहबाट ज्यान मार्ने धम्की पाएको बताइएको छ। उनले लागुऔषध कारोबारी र राजनीतिक तथा व्यावसायिक क्षेत्रका प्रभावशाली व्यक्तिहरूबीच सम्बन्ध रहेको दाबी गर्दै विभिन्न विषय सार्वजनिक गर्दै आएका थिए ।
कोस्टारिकाकी राष्ट्रपति लौरा फर्नान्डिजले पत्रकार रोड्रिगेजको हत्याको निन्दा गर्दै घटनालाई अभिव्यक्ति स्वतन्त्रतामाथिको आघात बताएका छन् ।
रोड्रिगेजले गत वर्ष राष्ट्रपतिको घर लागुऔषध तस्करको पैसाबाट बनेको आरोप लगाएपछि राष्ट्रपति फर्नान्डिजले उनीविरुद्ध मानहानिको मुद्दा दायर गरेका थिए ।
यसैबीच, पत्रकार संघले घटनाको निष्पक्ष र शीघ्र अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेको छ।
पछिल्ला वर्षमा कोस्टारिका लागुऔषध तस्करीको प्रमुख केन्द्रका रूपमा विकसित हुँदै गएको छ। महान्यायाधिवक्ता कार्लो डियाजले पत्रकार हत्याको अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन् ।
उनका अनुसार रोड्रिगेजलाई यसअघि साक्षी संरक्षण कार्यक्रममा सहभागी हुन प्रस्ताव गरिएको भए पनि उनले त्यसलाई अस्वीकार गरेका थिए ।