• Menu

९०औँ वर्षमा प्रवेश गर्‍यो नेपालको पहिलो बैंक, ‘फोन लोन’ र ‘बीएनपीएल’ कार्ड सुरु

नेपाल प्रफिट

२०८३ मंसिर १, मंगलबार १२:२६

९०औँ वर्षमा प्रवेश गर्‍यो नेपालको पहिलो बैंक, ‘फोन लोन’ र ‘बीएनपीएल’ कार्ड सुरु

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ९०औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ। बैंकको प्रधान कार्यालय धर्मपथ, काठमाडौंमा आयोजित वार्षिकोत्सव समारोह अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर धनबहादुर रावल विशेष अतिथिका रूपमा सहभागी भएका थिए ।

समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले बैंकको डिजिटल कर्जा सेवा ‘फोन लोन’, ‘बाइ नाउ पे लेटर’ (BNPL) क्रेडिट कार्ड तथा ‘अनलाइन लोन एप्लिकेसन पोर्टल’को शुभारम्भ गरेका थिए । उनले उत्पादन र उद्यमशीलता प्रवर्धनका लागि उत्पादनशील क्षेत्रको कर्जा सहजीकरण, पर्यटन, कृषि, साना तथा मझौला उद्योगमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिए ।

उनले बैंक तथा वित्तीय संस्थाले उत्पादन र उद्यमशीलता प्रवर्धनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउँदै डिजिटल रूपान्तरण र वित्तीय समावेशीकरणमार्फत सबै नागरिकलाई बैंकिङ सेवामा जोड्नुपर्ने धारणा राखे ।

नेपाल बैंकले हाल देशभर २३० वटा शाखा, २४० वटा एटीएम तथा ४७ वटा एक्सटेन्सन काउन्टरमार्फत २५ लाखभन्दा बढी ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ। बैंकले अन्तर्राष्ट्रिय स्तरको बैंकिङ प्रविधिमार्फत सेवा तथा सुविधा प्रदान गर्दै आएको पनि जनाएको छ।

बैंकका अनुसार प्रविधिमैत्री सेवा विस्तार गर्ने उद्देश्यअनुरूप डिजिटल सेवा तथा सुरक्षित बैंकिङ कारोबारलाई प्राथमिकता दिइएको छ। बैंकले डिजिटल सेवा सहज र सर्वसुलभ बनाउँदै ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई समेत बैंकिङ पहुँचमा जोड्ने काम गरिरहेको जनाएको छ।

वार्षिकोत्सवका अवसरमा बैंकमा २५ वर्ष अविच्छिन्न सेवा गरेका नौ जना र २० वर्ष अविच्छिन्न सेवा गरेका १० जना कर्मचारीलाई दीर्घसेवा कदरस्वरूप पदक तथा प्रशंसापत्र प्रदान गरिएको थियो। त्यसैगरी प्रादेशिक तथा भौगोलिक वर्गीकरणका आधारमा उत्कृष्ट कार्यसम्पादन गरेका १२ शाखालाई उत्कृष्ट शाखा पुरस्कार प्रदान गरिएको थियो।

समारोहमा बैंकको शाखा सञ्चालनका क्रममा देखिएको विशिष्ट योगदानको कदर गर्दै सम्बन्धित शाखा तथा कर्मचारीलाई सम्मान गरिएको थियो। साथै, विपद् परिस्थितिमा बैंकको सम्पत्तिको सुरक्षामा योगदान पुर्‍याएका कर्मचारी तथा सुरक्षाकर्मीलाई समेत सम्मान गरिएको बैंकले जनाएको छ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले उपस्थित अतिथिहरूलाई स्वागत गर्नुभएको थियो। समारोहमा बैंकका सञ्चालक समिति सदस्य, कर्मचारी तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

नेपाल बैंक लिमिटेडले ९० वर्षको बैंकिङ यात्रालाई थप प्रविधिमैत्री, प्रतिस्पर्धी र सेवामुखी बनाउँदै वित्तीय पहुँच विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।