• Menu

चिसो बढेसँगै मानुङकोटमा पर्यटकको चहलपहल, कुहिरो र सूर्योदयले लोभ्याउँदै

नेपाल प्रफिट

२०८३ मंसिर ६, आइतबार १२:४८

चिसो बढेसँगै मानुङकोटमा पर्यटकको चहलपहल, कुहिरो र सूर्योदयले लोभ्याउँदै

तनहुँ । चिसो मौसमसँगै कुहिरो र सूर्योदयको दृश्य हेर्न तनहुँको व्यास नगरपालिका-५ स्थित पर्यटकीय गन्तव्य मानुङकोटमा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ ।

बिहानको समयमा देखिने कुहिरोले ढपक्क ढाकेको दृश्य र सूर्योदयको मनोरम दृश्य हेर्नका लागि यतिबेला मानुङकोटमा दैनिक पर्यटकको चहलपहल निकै बढेको हो । प्राकृतिक सौन्दर्य, मनोरम दृश्य र बिहान देखिने कुहिरोको आकर्षणका कारण मानुङकोट पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

पछिल्लो समय मौसम चिसो हुन थालेसँगै यहाँको वातावरण थप रमणीय बनेको छ । विशेषगरी बिहानको समयमा डाँडाबाट देखिने कुहिरो र वरपरका पहाडी दृश्यले पर्यटकलाई आकर्षित गर्ने गरेको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए । उनले दैनिक ३-४ सय पर्यटक मानुङकोट पुगेर दृश्यावलोकन गर्ने गरेको बताए । उनका अनुसार कतिपय पर्यटक अघिल्लो रात मानुङकोटमा बिताएर बिहान दृश्य हेरेर फर्किने गरेका छन् ।

स्थानीय व्यवसायी शैलेश सुनामका अनुसार पर्यटकको आगमन बढेसँगै स्थानीय व्यवसायमा पनि चहलपहल बढेको छ । पर्यटकको उपस्थितिले स्थानीय होटल तथा अन्य व्यवसायलाई लाभ पुग्ने उनले बताए । मानुङकोटबाट देखिने कुहिरो र सूर्योदयले यहाँ पुग्ने जोकोहीलाई लोभ्याउने गरेको छ । त्यहाँबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु र लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिनेछ । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । रासस