• Menu

दसैँ नजिकिँदै गर्दा कैलालीका किसानलाई पाकेको धान भित्र्याउने चटारो

नेपाल प्रफिट

२०८३ असोज २५, आइतबार १७:३४

दसैँ नजिकिँदै गर्दा कैलालीका किसानलाई पाकेको धान भित्र्याउने चटारो

धनगढी । कैलालीका किसानलाई यतिबेला खेतबारीमा पाकेको धानबाली भित्र्याउन भ्याइनभ्याइ छ । केही दिनअघि वर्षासँगै आएको हावाहुरीका कारण कतिपय किसानका खेतमा काटेको धानबाली पानीले भिज्नुका साथै धान ढलेको थियो । किसानलाई पानीले क्षति भएको धानबाली स्याहार्न समस्या भएको थियो ।

मौसम फेरबदलले पाकेको धानबाली काट्न र भित्र्याउन असहज भएको थियो । तर हिजोआज घामलागेसँगै खेतमा पाकेको धानबाली  भित्र्याउन किसानलाई भ्याइनभ्याइ छ । धनगढी उपमहानगरपालिका-३ बडहराको किसान भगतराम चौधरीले हिजोआज धान कटाइमा व्यस्त रहेको बताए । खेती किसानीबाट खानलाउनसहित घर खर्चको जोहो गर्दै आएका उनले खेतमा धान लटरम्म पाकेर झर्ने अवस्थामा पुगेपछि आफूले वर्षभरिका लागि जोहो गरेर खाने अन्न विग्रीने भन्दै चिन्ता व्यक्त गरे ।

‘हिजो आज घरको सबै काम छोडेर खेतमै बढी समय बित्ने गरेको छ,’ चौधरीले भने, ‘झिसमिसे अध्याँरो समयसम्म खेतमै हुन्छौँ र बिहान सबेरै खेतमा जान्छौ ।’ महान चाड बडादशैँ नजिकिएसँगै काम सकेर पर्व मनाउने उद्देश्यले किसानको व्यस्तता बढेको देखिन्छन ।

खेतमा धान काट्दै गरेका अर्का किसान सुकराम चौधरीले पनि खेतमा काटेको धान थ्रेसन गर्नको लागि पालो कुर्नु परेको बताए । हातैले धान काट्ने र धानको मुठा चुटेर परम्परागत तरिकाले धान भित्र्याउने गरेका किसानले यतिबेला आधुनिक उपकरण प्रयोग गरिरहेका छन् । किसान पहिले एकअर्कासँग पालोपैचो तथा पर्मा गर्दै हातैले धान काट्ने, चुट्ने र भित्र्याउने गर्दथ्ये भने हिजोआज ती परम्परा विस्थापित हुन थालेका छन् ।

नेपालीहरूको महान पर्व बडादसैँ आजदेखि सुरु भइसकेको छ । दसैँको दशमी तिथि आउन केही दिन मात्रै बाँकी छ । छिटोछिटो धानबाली भित्र्याएर पर्व मनाउने मनसायका साथ किसानहरू धानबाली भित्र्याउन आआफ्ना खेतमा सानादेखि ठूला घरपरिवारका सबै सदस्य जुटेका देखिन्छन् ।

थोरै खेत हुने किसानले थ्रेसर गरेर धान घरमा भित्र्याइसकेका छन् । किसानका खेतमा यस वर्ष सर्जु, मन्सुली, भालेमन्सुली, राधा-४ लगायत विभिन्न उन्नत धानका जात बढी मात्रामा देखिन्छन् । रासस