झापा । भारतबाट तीन दिनअघि नेपाल प्रवेश गरेको जङ्गली हात्तीको बथान बाहुनडाँगी हुँदै बुद्धशान्ति क्षेत्रसम्म आइपुगेपछि झापाका स्थानीयवासीमा त्रास बढेको छ। हात्तीले बालीनाली नष्ट गर्ने र मानवीय क्षति पुर्याउने जोखिम बढेपछि किसान चिन्तित बनेका छन्।
धान काटेर भित्र्याउने तयारीमा रहेका किसानलाई हात्तीले जुनसुकै बेला खेतमा पसेर बाली नष्ट गरिदिने हो कि भन्ने चिन्ता छ।
मेचीनगर-४ की स्थानीय तुलसीमाया श्रेष्ठका अनुसार यस क्षेत्रमा दैनिकजसो जङ्गली हात्ती आउने गरेका छन्। विशेषगरी रातको समयमा हात्ती आउने भएकाले बालीनाली जोगाउन समस्या हुने गरेको उनले बताइन्।
‘आज पनि खेताला खोजेर धान काट्ने र बिटा बाँधेर थन्क्याउने तयारीमा छौँ। भित्र्याउने बेला भएको धान हात्तीले कुन बेला आएर नष्ट गरिदिने हो भन्ने पिर छ,’ श्रेष्ठले भनिन्, ‘हात्ती दैनिकजसो आउने भएकाले रातको समयमा पनि ढुक्कसँग बस्न सक्ने अवस्था छैन।’
यसैबीच, बिहीबार बिहान बुद्धशान्ति गाउँपालिका-२ स्थित बिहानी टोलमा हात्तीको आक्रमणबाट एक मोटरसाइकल चालक घाइते भएका छन्। बिहान ५ः१० बजे तीनतले सामुदायिक वनबाट निस्किएको हात्तीले आक्रमण गर्दा स्थानीय ५६ वर्षीय डिल्लीबहादुर पौडेल घाइते भएका हुन्। उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको छ।
हात्तीको सम्भावित आक्रमण र क्षति न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय झापाले पनि सक्रियता बढाएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसहित जिल्लाका चारवटै सुरक्षा निकायका प्रमुख र डिभिजन वन कार्यालयका कर्मचारीले बिहीबार हात्तीको मुख्य प्रवेशद्वार मानिने मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाको स्थलगत अनुगमन गरेका छन्।
अनुगमनका क्रममा उनीहरूले स्थानीयवासीसँग छलफल गर्दै हात्तीको आवागमन र सम्भावित क्षति रोकथामका उपायबारे जानकारी लिएका छन्।
प्रमुख जिल्ला अधिकारी पोखरेलले हात्तीको आवागमनलाई व्यवस्थित गर्दै मानव-हात्ती सहअस्तित्व कायम गर्नुपर्ने बताए।
‘हात्ती नियन्त्रणका विषयमा सरोकारवाला पक्षसँग पटक-पटक छलफल गर्दै आएका छौँ। अहिले स्थलगत अवस्थाको जानकारी लिन फिल्डमै आएका हौँ,’ उनले भने, ‘मानव-हात्ती सहअस्तित्वका लागि उपयुक्त वातावरण बनाउनुपर्छ। हात्तीको आवागमन व्यवस्थित गर्ने, बालीनाली र मानवीय क्षति न्यूनीकरण गर्ने तथा स्थानीयको व्यवहार परिवर्तन गर्ने विषयमा सबै पक्ष गम्भीर हुन आवश्यक छ।’
उनले प्रशासन, सुरक्षा निकाय, डिभिजन वन कार्यालय, सामुदायिक वन, स्थानीय जनप्रतिनिधि र स्थानीयवासीबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिए।
हात्तीको बथानको आवागमन र जोखिमलाई ध्यानमा राख्दै स्थानीय तहले पनि सुरक्षाका उपाय अपनाउन थालेका छन्। मेचीनगर-४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले हात्ती प्रायः रातको समयमा हिँड्ने भएकाले स्थानीयको सुरक्षाका लागि वडा कार्यालयले सुरक्षा निकायलाई टर्चलाइट र साइरन उपलब्ध गराएको बताए।
हात्तीबाट हुने बालीनालीको क्षति कम गर्न किसानले खेती प्रणालीमा समेत परिवर्तन गर्न थालेका छन्। धान र मकैजस्ता हात्तीले बढी क्षति पुर्याउन सक्ने बालीसँगै तोरी र सुपारीजस्ता हात्तीले तुलनात्मक रूपमा कम रुचाउने बाली लगाउन किसान आकर्षित हुन थालेको वडाध्यक्ष कार्कीले जानकारी दिए।
हात्तीको प्राकृतिक करिडोर खुम्चिँदै जानु र वन क्षेत्र प्रभावित हुँदै जानुले मानव-हात्ती द्वन्द्व बढ्दै गएको छ। यस्तो समस्या न्यूनीकरण गर्न वन क्षेत्रको संरक्षणसँगै मानवीय तथा भौतिक क्षति रोक्न स्थानीयवासीको आनीबानी र व्यवहारमा समेत परिवर्तन आवश्यक देखिएको छ।