सर्लाही । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय गाडी (ईभी) दुर्घटनामा एउटै गाउँका १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिका-४, सुन्दरपुर शोकमा डुबेको छ। दुर्घटनामा आफन्त गुमाएका परिवार शवको प्रतीक्षामा छन् भने गाउँका अधिकांश घरमा दुई दिनदेखि चुलोसमेत बलेको छैन।
छठ पर्व मनाउन काठमाडौँबाट सर्लाही आउँदै गरेको ईभी बिहीबार बिहान करिब ६ बजे मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित चिसापानीगढीमा दुर्घटनामा परेको थियो। सडकबाट करिब ५०० मिटर तल खसेको गाडीमा सवार तीन बालिकासहित १४ जनाको मृत्यु भएको थियो।
दुर्घटनाको खबर पाएदेखि नै मृतकका परिवार शोकमा छन्। छठ मनाउन घर फर्कने तयारीमा रहेका आफन्तको मृत्यु भएपछि सुन्दरपुर गाउँको खुसी एकाएक शोकमा परिणत भएको छ। छठघाट निर्माण, गाउँघर सरसफाइ र पाहुनालाई निम्तो दिने चटारोमा रहेको गाउँ अहिले सुनसान बनेको छ।
दुर्घटनामा छोरा र बुहारी गुमाएका प्रमोद यादवका अनुसार बुधबार साँझ छोरा गुड्डु यादवले गाउँका साथीभाइसँगै परिवार भोलिपल्ट छठ मनाउन घर आउन लागेको जानकारी दिएका थिए। तर, बिहीबार बिहानै दुर्घटनाको खबरले परिवारमा बज्रपात परेको उनले बताए।
गुड्डु र उनकी श्रीमती गायत्री देवीका दुई छोरा सक्षम र सुजन पनि सोही गाडीमा सवार थिए। दुर्घटनामा पाँच वर्षीय सक्षम बाँच्न सफल भएका छन्। दुर्घटनाका क्रममा बुबाले आफूलाई गाडीबाट बाहिर फालेको र त्यसपछि अरू कसैले सडकमा ल्याएकोसम्म सम्झना रहेको सक्षमले बताएका छन्।
शरीरमा चोटपटक लागेर घर फर्किएका सक्षमलाई आफ्ना आमाबुबाको मृत्यु भएको जानकारी दिइएको छैन। अर्का छोरा सुजनको टाउको र मुखमा चोट लागेकाले काठमाडौँमा उपचार भइरहेको छ।
भक्तपुरको इमाडोल आसपासमा ठेलामा तरकारी बेचेर गुड्डु र गायत्रीले दुई छोराको पालनपोषण गर्दै आएका थिए। दुर्घटनामा आमाबुबा गुमाएपछि दुवै बालक अभिभावकविहीन भएका छन्।
दुर्घटनामा चक्रघट्ट गाउँपालिका-४, सुन्दरपुरकै एक परिवारका छ जनाको मृत्यु भएको छ। अवधेश यादवकी ३५ वर्षीया श्रीमती पुनम यादव, १० वर्षीया छोरी अनुकुमारी, सात वर्षीया दीक्षा, पाँच वर्षीया दीपिका तथा उनका भाइहरू निकेश र सुधेश यादवको मृत्यु भएको हो। परिवारका १४ महिनाका छोरा सुदीपको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।
त्यस्तै, निरशु यादवका ४० वर्षीय छोरा राकेश राय र १८ वर्षीय नाति रोहन रायको पनि दुर्घटनामा मृत्यु भएको छ। सोही गाउँका अमिरी रायका २५ वर्षीय छोरा रामप्रवेश यादव, चन्देश्वर रायका २५ वर्षीय छोरा सुवोध राय र निरश रायका २५ वर्षीय छोरा रामदुलार रायले पनि ज्यान गुमाएका छन्। दुर्घटनामा सवारी चालक सर्लाहीको कविलासीका ३० वर्षीय रविशङ्करकुमार मण्डलको समेत मृत्यु भएको छ।
एकै परिवारका छ जनाको मृत्यु भएपछि आफन्तको अवस्था सम्हालिनसक्नु बनेको छ। परिवारकी निर्मला पटकपटक अचेत हुने गरेको र छिमेकीले सबैको उपचार भइरहेको भन्दै सम्झाउने प्रयास गरिरहेको स्थानीय विपुलकुमारले बताए।
यस दुर्घटनाले गाउँलेलाई १२ वर्षअघिको अर्को दुःखद् घटनाको पनि स्मरण गराएको छ। विसं २०७१ कात्तिक १८ गते मकवानपुरको चुरियामाईमा इँटा बोकेको ट्रक दुर्घटना हुँदा सर्लाहीको तत्कालीन औरही गाविसका सात जनाको मृत्यु भएको थियो। ट्रकभित्र लुकेर बसेका उनीहरू ट्रक पल्टिँदा इँटाले थिचिएका थिए। उक्त दुर्घटनामा सियाराम महतो, झगु महतो, जित पासवान, रामबली माझी, विशेष यादव, जङ्गीलाल महतो र नवलपुरका राजकुमार माझीको मृत्यु भएको थियो।
स्थानीयवासीले दुर्घटनाका दोषीलाई कारबाही गर्न र पीडित परिवारलाई उचित राहत उपलब्ध गराउन माग गरेका छन्। घटनालगत्तै चक्रघट्ट गाउँपालिकाका अध्यक्ष कृष्ण यादवसहितको टोली मकवानपुर पुगेको थियो। अध्यक्ष यादवले मृतकका परिवारलाई न्याय दिलाउन पहल भइरहेको बताए।
उनका अनुसार शव परीक्षणपछि मृतकका शव गाउँ ल्याइनेछ। गाउँपालिकाले गाउँका १३ जनाको मृत्यु भएपछि एक दिन शोक घोषणा गरेको छ। साथै, मृतकको दाहसंस्कारका लागि प्रतिपरिवार ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरिएको उनले जानकारी दिए।
यता, पीडित परिवारले राहतलगायतका विषयमा स्पष्ट व्यवस्था नभएसम्म शव नबुझ्ने बताएका छन्। शव परीक्षणपछि आफन्तको शव गाउँ ल्याइने प्रतीक्षामा रहेका परिवारले न्याय र उचित राहतको माग गरेका छन्।