• Menu

त्रिभुवन विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी

नेपाल प्रफिट

२०८३ कात्तिक २७, शुक्रबार १५:४२

त्रिभुवन विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को शैक्षिक गुणस्तर सुधार, परीक्षा प्रणाली व्यवस्थित र उच्च शिक्षामा प्रभावकारिता बढाउन सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गर्ने तयारी गरिएको छ।

यस विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा त्रिविका पदाधिकारीसँग छलफल गरेको छ।

छलफलमा त्रिविको संस्थागत पहिचान स्थापित गर्ने, अनुसन्धानमूलक गतिविधिलाई प्रोत्साहन गर्ने, पठनपाठनको प्रभावकारिता बढाउने तथा विद्यार्थीको शैक्षिक क्षमताका आधारमा कोटा निर्धारण गर्ने विषयमा चर्चा भएको थियो।

त्यस्तै, नयाँ शैक्षिक कार्यक्रम सञ्चालन तथा सम्बन्धन वितरणलाई व्यवस्थित र मापदण्डमा आधारित बनाउने, उच्च शिक्षामा लगानी बढाउने र विश्वविद्यालयको समग्र शैक्षिक वातावरण सुधार गर्ने विषयमा पनि छलफल भएको थियो।

छलफलका क्रममा सेमेस्टर प्रणाली कार्यान्वयनका लागि पाठ्यक्रम निर्माण भइरहेको र नीतिगत सुधारसँगै पाठ्यक्रम परिमार्जनको काम अघि बढाइएको जानकारी गराइएको थियो।

त्रिविका उपकुलपति प्रा. डा. भोला थापाले विश्वविद्यालयको शैक्षिक गुणस्तर सुधार गर्दै त्रिभुवन विश्वविद्यालयलाई उत्कृष्टताको केन्द्र (सेन्टर फर एक्सिलेन्स) का रूपमा विकास गर्न विश्वविद्यालय प्रतिबद्ध रहेको बताए। उनले नेपालको उच्च शिक्षा सुधारका लागि मन्त्रालयसँग समन्वय गरी विस्तृत कार्ययोजनासहित अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झाले विद्युतीय हाजिरी (ई-एटेन्डेन्स) प्रणालीले शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने बताए। सम्बन्धन प्रदान गर्दा सङ्ख्यात्मक विस्तारभन्दा गुणस्तरलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले त्रिविबाट सम्बन्धन प्राप्त सबै क्याम्पसमा आवश्यक शैक्षिक पूर्वाधार, पुस्तकालय र प्रयोगशालाको व्यवस्था अनिवार्य हुनुपर्ने बताए।

उनले क्याम्पसको दिगोपन र शैक्षिक गुणस्तर कायम गर्न विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै विश्वविद्यालयको पठनपाठनलाई सेमेस्टर प्रणालीमा लैजान, कलेजलाई उत्कृष्टताको केन्द्रका रूपमा विकास गर्न र शैक्षिक सत्र व्यवस्थित बनाउनुपर्ने धारणा राखे।

त्यसैगरी, त्रिविको जग्गा फिर्ता ल्याउने विषयलाई पनि प्राथमिकताका साथ अघि बढाउनुपर्ने उनले बताए।

मन्त्रालयका सहसचिव श्रीप्रसाद भट्टराईले त्रिविको जग्गासम्बन्धी विषयमा थप खोजबिन गरी समग्र लगत तयार गर्नुपर्ने बताए। यसका लागि मन्त्रालयले आवश्यक सहजीकरण गर्ने उनको भनाइ थियो।

शैक्षिक कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालय आवश्यक समन्वय र सहजीकरण गर्न सधैँ तयार रहेको पनि उनले स्पष्ट पारे।

छलफलमा त्रिविका उपकुलपति प्रा. डा. भोला थापा, शिक्षामन्त्रीका सल्लाहकार शैलेन्द्र झा, शिक्षाध्यक्ष प्रा. डा. अञ्जना सिंह, रजिस्ट्रार सहप्राध्यापक डा. रविन्द्र शिवाकोटी, मन्त्रालयका सहसचिवद्वय जयराम अधिकारी र श्रीप्रसाद भट्टराई तथा विश्वविद्यालयका विभिन्न डीनहरूको सहभागिता थियो।

सम्बन्धित समाचार