• Menu

मकवानपुरको चिसापानीगढी सवारी दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन, ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन

नेपाल प्रफिट

२०८३ कात्तिक २७, शुक्रबार १३:३८

मकवानपुरको चिसापानीगढी सवारी दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन, ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन

काठमाडौं। मकवानपुरको भीमफेदी-६ स्थित चिसापानीगढीमा बिहीबार भएको भीषण सवारी दुर्घटनाको छानबिन गर्न सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हेमराज अर्यालले आज जारी गरेको विज्ञप्तिअनुसार मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।

सरकारले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको वास्तविक कारण पत्ता लगाउन र आगामी दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन तयार गर्न समिति गठन गरेको जनाएको छ।

विज्ञप्तिमा दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ। साथै, उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवारलाई आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता पनि सरकारले जनाएको छ।

काठमाडौं-सर्लाही रुटमा सञ्चालन हुँदै आएको मधेस प्रदेश ०३-००१ ज ०८८० नम्बरको सवारीसाधन बिहीबार अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खस्दा १४ जनाको मृत्यु भएको थियो। दुर्घटनामा छ जना घाइते भएका थिए।

मृतकमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका-४, सुन्दरपुरका र एक जना चालक कविलासी नगरपालिकाका बासिन्दा रहेको जनाइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार घाइतेहरूको उपचारलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ। उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताललाई आवश्यक निर्देशनसमेत दिइसकिएको छ।

घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने बाँकी तीन जनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र प्रचलित बिमा कानुनअनुसार घाइतेको उपचार खर्च तथा मृतकका परिवारले पाउने क्षतिपूर्ति र बिमा रकम यथाशीघ्र उपलब्ध गराउन सम्बन्धित सवारीधनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ।