• Menu

फेडले ब्याज बढाउने अनुमानमा सुनको मूल्यमा पहिरो

नेपाल प्रफिट

२०८३ मंसिर ४, शुक्रबार १३:३६

फेडले ब्याज बढाउने अनुमानमा सुनको मूल्यमा पहिरो

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा केही दिनयता सुनको मूल्यमा पहिरो गइरहेको छ । जसको असर नेपालमा पनि परेको छ । नोभेम्बर १० मा प्रतिऔंस ४१ सय ५६ अमेरिकी डलर रहेको सुनको मूल्य नोभेम्बर २० मा आइपुग्दा ३५ सय ४५ डलर हाराहारी झरेको छ । ११ दिनमा सुन ६०० अमेरिकी डलरले सस्तिएको छ ।

विश्लेषकहरुले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले ब्याजदर बढाउने अनुमानका कारण सुनको मूल्यमा यति ठूलो गिरावट आएको बताएका छन् ।

नेपालमा पनि तिहारपछि अहिलेसम्म सुनको मूल्य प्रतितोला ३८ हजार ३०० रुपैयाँ घटिसकेको छ । तिहारअघि तोलाको २ लाख ८४ हजार ३०० रुपैयाँ रहेको सुन मंसिर ४ गते २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ । सुन व्यापारीहरुले अमेरिकामा ब्याजदर बढ्ने हल्लाकै कारण मूल्य प्रभावित भएको बताएका छन् ।

विश्लेषकहरुले अमेरिकामा महँगी व्याप्त रहेको र त्यसको नियन्त्रणका लागि फेडले आगामी महिना ब्याजदर बढाउन सक्ने प्रक्षेपण गरेका छन् । सिएमई समूहको फेड वाच उपकरणले ब्याजदर ०.२५ प्रतिशतदेखि ०.५ प्रतिशतसम्म वृद्धि हुने अनुमान गरेको छ ।

अक्टोबरमा अमेरिकी मुद्रास्फीति ०.३ प्रतिशतको प्राक्षेपणविपरीत ०.४ प्रतिशत पुगेपछि ब्याजदर बढाएर नियन्त्रण गर्न फेडरल रिजर्भमाथि दबाब परिरहेको छ । फेडका गभर्नर क्रिस्टोफर वालरले मुद्रास्फीतिको बारेमा धेरै चिन्तित रहेको र त्यसलाई कम गर्न अलि बढी आक्रामक हुन सकिने संकेत गरेका छन् ।

फेडका अध्यक्ष केभिन वार्सले गएको सोमबार अमेरिकाको सान फ्रान्सिस्कोमा फेडरल रिजर्भ बैंकमा गरेको सम्बोधनमा मुद्रास्फीति नियन्त्रणका लागि ब्याजदर वृद्धिबारे केही बोलेनन् । तर, उनले अर्थतन्त्रमा दबाब रहेकाले भाविष्यको मौद्रिक नीतिमा गहिरो असर रहने उल्लेख गरे ।
ब्याजदर बढ्दा अमेरिकी ठूला लगानीकर्ताले सुन बिक्री गरी बन्ड र बैंक निक्षेपमा पैसा राख्ने भएकाले अहिले सुनको मूल्य घट्न बल पुगेको हो । फेडले यस्तो निर्णय गरेमा अमेरिकी डलर थप बलियो बन्नेछ । डलर बलियो बन्दा अन्य देशलाई सुन किन्न महँगो पर्छ, त्यसैले माग घट्न गई मूल्य पनि घट्छ ।

यस्तै मूल्य घट्ने संकेत पाएपछि ठूला लगानीकर्ताले नाफा सुरक्षित गर्न सुन बेच्न थालेका हुन् । ब्याजदर बढ्ने संकेत पाएपछि लगानीकर्ताले सुन बेचेर बन्ड र बैंक निक्षेपमा लगानी बढाउन थालेका छन् ।

अन्तर्राष्ट्रिय बेन्चमार्कमा शुक्रबार बिहानसम्म सुनको मूल्य प्रतिऔंस ३५ सय ५८ अमेरिकी डलरमा झरेको छ । विश्लेषकहरुले ३३ सय डलरसम्म झर्नसक्ने बलियो सपोर्ट लाइन देखिएको बताएका छन् । सुनको मूल्य घट्नुमा अमेरिकी केन्द्रीय बैंकको भूमिका मात्र नभई रुस-युक्रेन युद्ध पनि महत्त्वपूर्ण हुनसक्छ ।