• Menu

ग्लोबल आइएमई बैंकद्वारा प्राचीन कलाकृति समावेश २०८१ सालको क्यालेन्डर सार्वजनिक

नेपाल प्रफिट

२०८० फागुन २७, आइतबार १५:०४

ग्लोबल आइएमई बैंकद्वारा प्राचीन कलाकृति समावेश २०८१ सालको क्यालेन्डर सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंकले २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले राष्ट्रिय संग्रहालय छाउनी र पुरातत्व विभागसँगको सहकार्यमा विभिन्न समयमा स्वदेश फर्काइएका प्राचीन कलाकृति समावेश गरी तयार गरिएको नयाँ वर्ष २०८१ को क्यालेन्डर सार्वजनिक गरेको हो ।

ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको कर्पोरेट कार्यालय, कमलादीमा आयोजित एक समारोहबीच नयाँ सालको क्यालेन्डर सार्वजनिक गरेका छन् ।

क्यालेन्डर सार्वजनिक गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई पूरा गर्न विभिन्न सामाजिक कार्य गर्दै आएको बताए ।

विगतका वर्षहरुमा पनि क्यालेन्डरमा नेपाली कला र संस्कृतिसम्बन्धी विषय प्रकाशन गर्ने गरेको उनले स्मरण गराए । ‘नेपालको सर्वांगिण विकासका लागि हामीले नेपाली कला, साहित्य, संस्कृति र सभ्यतालाई संरक्षण तथा प्रवर्धन गर्न आवश्यक छ,’ उनले भने,’ ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यहरुलाई निरन्तरता दिँदै आएको छ ।’

उनले नयाँ वर्ष २०८१ सालको सु-अवसरमा सम्पूर्ण ग्राहक, सेयरधनी, नियमनकारी निकाय, कर्मचारी एवं प्रत्यक्ष अप्रत्यक्ष जोडिएका सबैमा नयाँ वर्ष २०८१ को शुभकामनासमेत व्यक्त गरे । कार्यक्रममा बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापनलगायत बैंकका कर्मचारी तथा विभिन्न व्यक्तिहरुको उपस्थिति थियो ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र छन् ।

ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजनामार्फत आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउद अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्