• Menu

सिटिजन्स बैंकले आयोजना गर्‍यो स्वास्थ्य शिविर, ३ सयभन्दा धेरैको सहभागिता

नेपाल प्रफिट

२०८० चैत १९, सोमबार २०:२५

सिटिजन्स बैंकले आयोजना गर्‍यो स्वास्थ्य शिविर, ३ सयभन्दा धेरैको सहभागिता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले १७औं वार्षिकोत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरेको छ ।

वैशाख ७ गते पर्ने वार्षिकोत्सवको अवसर पारेर बैंकले चैत १७ गते गण्डकी प्रदेशअन्तर्गत बेनी शाखा र कर्णाली प्रदेशअन्तर्गत सुर्खेत शाखाको सक्रियतामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले गण्डकी प्रदेश बेनी नगरपालिका वडा नं. ६ अर्थुङेमा स्थानीय बेनी सञ्जीवनी हेल्थ क्लिनिकसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परिक्षणका साथै निःशुल्क औषधी वितरण गरेको छ ।

त्यस्तै कर्णाली प्रदेशको सुर्खेतस्थित बराहताल गिरीघाटमा स्थानीय जीपी मेमोरियल नर्सिङ होमसँगको सहकार्यमा बैंकले निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।

दुवै स्वास्थ्य शिविरमा गरी ३ सयभन्दा बढीले सेवा प्राप्त गरेको बैंकले जनाएको छ । बैंकले निःस्वार्थ भावले विभिन्न सामाजिक गतिविधि गर्दै आएको जनाएको छ । रोगको उपचारमात्र नभएर रोकथाम गर्ने उद्देश्यअनुरुप गाउँ–गाउँमा शिविर आयोजना गरी गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उतरदायित्वअन्तर्गत प्रदेशका अन्य शाखामार्फत पनि स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।

सिटिजन्स बैंकले देशभरका १९० शाखा, १५३ एटीएम काउन्टर र ९८ शाखारहित बैंकिङ ईकाइबाट १७ लाख ३८ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

हाल ५५ जिल्लाबाट सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्षमा थप ५ शाखा विस्तार गरी ६० जिल्लाबाट सेवा प्रदान गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्