• Menu

विचार

चिनियाँ सद्भाव लिने कि चिनियाँ अर्थतन्त्रको गतिशील रणनीति पछ्याउने ?

हिमाल न्यौपाने

२०८० फागुन २६, शनिबार १०:०५

चिनियाँ सद्भाव लिने कि चिनियाँ अर्थतन्त्रको गतिशील रणनीति पछ्याउने ?

(नोट : वर्षमान पुन २०६८ भदौमा अर्थमन्त्री नियुक्त हुँदा प्रकाशित हिमाल न्यौपानेको लेख अहिले पनि सान्दर्भिक देखिएकोले लेखकको अनुमतिमा पुन: प्रकाशित गरिएको ।)

अर्थमन्त्रीमा जब माओवादीका युवा तथा जुझारु नेता वर्षमान पुन नियुक्त भए, त्यसपछि उनका बारेमा टिका-टिप्पणी भइरहेको छ । केही विवादास्पद र सुस्त कामगराइका कारण आलोचित अर्थमन्त्री भोग्दै गर्दा भर्खरको युवा र फरक पृष्ठभूमिका नेता अर्थमन्त्रीमा आउँदा तरंग आउनु स्वाभाविक हो ।

यसमा शंका गरिएको महत्वपूर्ण पक्ष छ, फरक पृष्ठभूमिको भनेर । तर, त्यसकै फाइदास्वरुप उनले नयाँ तरिकाबाट काम गरे भने अहिलेसम्मका शास्त्रीय अर्थमन्त्रीको काम देखेर थाकेकाहरुलाई राहत मिल्नेछ । युवा अर्थमन्त्रीले कति नयाँ रणनीतिक सुधारका पक्षमा आफूलाई कसरी उभ्याउनेछन् भन्ने कुरा उनको कामगराइले देखाउने नै छ ।

सैद्धान्तिक रुपमा अति उग्र वामपन्थी रुझानमा हुर्केका यी युवा अर्थमन्त्रीले आफ्नै पार्टीको सिद्धान्तको केन्द्र चीनमा भएका पछिल्ला सुधार, खुलापन र सुधारमाथि गरिएका पुनः सुधारका रणनीतिहरुमा आँखा पुर्‍याए भने देशले कोल्टे फेर्न सक्छ ।

चिनियाँहरुले कसरी पुँजीवादका राम्रा पक्षहरुलाई भित्र्याए र रणनीतिक सुधारको रुपमा उपयोग गर्दै समृद्धितर्फ लागे भन्ने केही सन्दर्भहरुलाई यहाँको अवस्थासँग तुलना गरेर हेरौँ ।

जब, सुधार र खुलापनका १० वर्षहरु बित्दै थिए, चिनियाँहरुले सन् १९८८ मा अमेरिकी अर्थविद् मिल्टन फ्रिडमनलाई निम्त्याए । अर्थशास्त्रमा पहिलो नोबल पुरस्कार विजेता फ्रिडमनलाई बेइजिङमा केन्द्रीय नेताहरुले भव्य स्वागत गरे ।

यो निम्तोका बेला फ्रिडमनले चिनियाँहरुलाई दिएको सुझावले ७८ को सुधार र खुलापनपछि अब कता जाने भन्नेमा पहिलो सैद्धान्तिक बहसको तरंग सिर्जना गर्‍यो । सिकागो स्कुल अफ इकोनोमिक्सका फ्रिडमन आर्थिक स्वतन्त्रता र खुला बजार प्रणालीका स्पष्ट वक्ता थिए ।

यो भ्रमणका क्रममा फ्रिडमन सिचुवान प्रान्तको भ्रमणमा पुगे । सिचुवान प्रान्तका गभर्नर र फ्रिडमन सहभागी सम्मेलनको कार्यक्रम चीनभरि प्रसारण भइरहेको थियो । सभामा फ्रिडमनले भने- तिमी मुसाको पुच्छर काट्न चाहन्छौं भने ढिला नगरी एकैपटकमा काट्नु उचित हुन्छ । एकछिनको पीडा दिएर काम तमाम गर्नु राम्रो हो, त्यस्तो बेला लामो पीडा नदिनु नै उचित हुन्छ ।

फ्रिडमनको सल्लाह सुनेका गभर्नरले सोधे- प्रोफेसर यो सही कुरा हो । तर, हाम्रा चिनियाँ मुसाहरु अलि फरक छन् । यहाँ धेरै पुच्छर भएका मुसा छन् र ती पुच्छर पनि एक-अर्कामा जेलिएका छन् । तपाईंको विचारमा कुन पुच्छरलाई कसरी छानेर कुनलाई पहिलो पटक काट्ने ?

फ्रिडमनको सल्लाह सुनेका गभर्नरले सोधे- प्रोफेसर यो सही कुरा हो । तर, हाम्रा चिनियाँ मुसाहरु अलि फरक छन् । यहाँ धेरै पुच्छर भएका मुसा छन् र ती पुच्छर पनि एक-अर्कामा जेलिएका छन् । तपाईंको विचारमा कुन पुच्छरलाई कसरी छानेर कुनलाई पहिलो पटक काट्ने ?

यहाँ बजारका तत्वहरु, सरकारी निर्णयकर्ता- प्रशासक, राजनीतिज्ञ र अप्ठ्यारा नीतिहरुलाई मुसाको पुच्छरसँग दाँजिएको हो । यो सुनेपछि फ्रिडमनले जवाफ फर्काएनन्, खालि कुममात्र हल्लाए ।

त्यसको केही दिनमै हङकङका अर्थविद् स्टेभन एनएस चेङले लेखे- गभर्नरको जवाफी प्रश्नको उत्तर हामीसँग छ । तर, भन्ने अवस्था र समय थिएन । उत्तर यस्तो हुन सक्थ्यो- सबै पुच्छरहरु तत्कालै एकैपटक काटिनुपर्छ, उपयुक्त उपायहरु लगाएर ।

फ्रिडमनले पनि यस्तै महसुस गरेका थिए । उनको आशयअनुसार नै चिनियाँ अधिकारीहरुले एकै पटकमा बजार मूल्यका जेलिएका प्रणालीहरुलाई खारेज गर्दै बजारमा आधारित मूल्य प्रणालीमा जाने तय गरे । त्यसका लागि अघि बढ्न मूल्य प्रणालीका गुरु फ्रिडमनको सैद्धान्तिक आधारले निकै सहयोग पुर्‍यायो ।

यहाँको सन्दर्भमा पनि बितेको डेढ दशकमा खुला र उदार अर्थतन्त्रको फाइदा लिँदै उठेको निजी क्षेत्रभित्र मौलाएको खराब जालो, त्यससँगको साँठगाँठबाट फाइदा लिएको प्रशासन र त्यसैबाट टिकेको राजनीतिज्ञको जटिल सम्बन्धले जकडिएका आर्थिक नीतिहरुलाई सावधानीपूर्वक केलाएर नयाँ चरणको सुधारमा प्रवेश गर्न नसके कुनै परिणाम हात लाग्ने छैन ।

चिनियाँहरुले जस्तै खुला र उदार अर्थतन्त्रलाई नयाँ चरणको गतिशील सुधारमार्फत थप कदमका साथ अघि बढ्ने हिम्मत अर्थमन्त्रीले गर्नुपर्छ । यसले युवा अर्थमन्त्रीका रुपमा वर्षमानका अनन्त सम्भावनाहरु देखिन सक्छन् ।

अहिलेको आधुनिक र समृद्ध चीनका पछाडि सन् १९७८ देखि ९७ सम्ममा देखिएका क्रान्तिकारी सपनाहरुलाई नियाल्नुपर्छ । तङ स्याओपिङको सिफारिसमा सन् १९९१ मा झु रोङ झी उपराष्ट्रपतिको रुपमा बेइजिङ आए ।

उनलाई अर्थतन्त्रको इन्चार्जको रुपमा सो पदमा ल्याइएको थियो । सो पदमा आउनुअघि झुले सांघाईको महानगरीय कमिसनको प्रमुखको रुपमा रहेर आर्थिक व्यवस्थापनको अनुभव हासिल गरेका थिए ।

उनको आगमन आर्थिक सुधारलाई अघि बढाउनु र नेतृत्व दिनु थियो । उनको पहिलो काम ऋणमा डुबेका सरकारी कम्पनीहरुको उद्धार गर्नु थियो । झु आफैँ ऋणमा डुबेका कम्पनीहरुको समस्या राफसाफ गर्नमा प्रत्यक्ष संलग्न भए ।

त्यस समयमा दि इकोनोमिस्टले लेखेको थियो- भरभराउँदो चिनियाँ अर्थतन्त्र अब अलि बढी नै तातेर समस्यामा फस्न सक्छ । तर, यो डरलाग्दो समस्यालाई झुले पहिलो लडाइँको रुपमा कुशलतापूर्वक समाधान गरे ।

ठ्याक्कै यही समस्या यहाँ नेपालमा पनि छ । सरकारी तथा सार्वजनिक बैंक तथा वित्तीय संस्था र अन्य सार्वजनिक स्वामित्वका कम्पनीहरु गम्भीर समस्याबाट गुज्रेका छन् । पुँजीगत उद्धार, संरचनागत सुधार र नयाँ व्यापार रणनीतिहरु आवश्यक छ । त्यसमा पहिलो ध्यान जरुरी छ, जसले बजारमा प्रतिस्पर्धाको सन्तुलन कायम गराउन सक्छ ।

दोस्रो लडाइँको रुपमा झु रोङ झीले पुँजीमाथिको एकाधिकार र दुरुपयोगमाथि प्रहार गरे । त्यतिबेला नाफा तथा बढी ब्याजको लोभ देखाएर सर्वसाधारणबाट पुँजी संकलन गर्ने र त्यसबाट सीमित व्यक्तिहरुले फाइदा लिने होड चलेको थियो । यसले उत्पादन होइन, रकम यताउता गराउँदै नाफा कमाउने चक्रको रुप लिइरहेको थियो । यो झुको दोस्रो निसानामा पर्‍यो ।

तत्कालीन केन्द्रीय बैंकका उच्च अधिकारीहरुको संलग्नताले यो सम्भव भएको थियो । त्यसैले उनीहरु कारबाहीमा तानिए । यो घटना पनि दुई वर्षयता नेपालमा बैंक, फाइनान्स कम्पनी तथा सहकारीका गतिविधिसँग तुलना गर्न सकिन्छ ।

केन्द्रीय बैंकका पछिल्ला कडाइले केही वित्तीय माफियाहरु कारबाहीमा परे पनि यसमा ठोस सुधार भएको छैन । युवा अर्थमन्त्री र उनका नयाँ इन्चार्जहरुले यसमा ध्यान दिए भने केही परिणाम देखिनेछन् ।

यो सँगसँगै झुले सन् ९३ को जुलाईमा राष्ट्रिय वित्तीय नीतिसम्बन्धी सम्मेलन बोलाए, जसले कर संकलनदेखि बाँडफाँटको राष्ट्रिय प्रणालीमा सुधारलाई अघि बढाउन स्वीकृति दियो । यो सुधारले चीनको पूरै वित्तीय प्रणालीमा सुधार गर्‍यो । परिणामस्वरुप केन्द्रीय सरकारको खाता निकै बलियो बन्यो ।

यता, नेपालमा केन्द्रीय राजस्व बोर्ड गठनको कुरा तथा कर असुलीमा खास सुधारका प्रयासमा केही काम भए पनि ठोस परिणाम आउने गरी सुधार भएको छैन । युवा अर्थमन्त्रीले यस्तै प्रयासबाट कर सुधार बोलीमा होइन, कामै गरेर देखाउन सक्नुपर्छ ।

तेस्रो लडाइँको रुपमा झुले सरकारी स्वामित्वका संस्थानहरुको बिग्रँदो अवस्थालाई लिए । सरकारी स्वामित्वका संस्थानको सुधारमा झुले एउटै शब्दलाई धेरै पटक जोड दिए- बिक्री । यो भनाइको अर्थ थियो, जसले परिणाम ल्याउँदैन, सेवा दिँदैन र भारको रुपमा रहन्छ, त्यस्तो संस्थान सीधा बिक्रीमा जानेछ ।

आजैदेखि तिमी परिणामहरु दर्ता गर, म रेकर्ड राख्ने छु, तिमी रकम कमाउ, म कर छुट दिनेछु, तिमी धनी बन, म खुसी हुनेछु, तिमी कानुन तोड, म कारबाही गर्नेछु, तिमी टाट उल्टेउ भने म सहानुभूति दिनेछु ।

झुको घोषणा निकै चर्चित थियो, १० वर्षको सुधारपछि पनि परिणाम दिन नसकेकाहरुलाई फेरि जोगाउनुको अर्थ छैन । अबदेखि राज्य र त्यस्ता संस्थानहरुको सम्बन्ध फेरिएको छ । आजैदेखि तिमी परिणामहरु दर्ता गर, म रेकर्ड राख्ने छु, तिमी रकम कमाउ, म कर छुट दिनेछु, तिमी धनी बन, म खुसी हुनेछु, तिमी कानुन तोड, म कारबाही गर्नेछु, तिमी टाट उल्टेउ भने म सहानुभूति दिनेछु ।

यो सुधारको जोखिमपूर्ण लडाइँपछि सरकारी स्वामित्वका संस्थानहरुको संरचनागत सुधार भयो । र, अहिले राज्यका वैकल्पिक व्यापारिक हतियारको रुपमा बजारलाई सन्तुलनमा राख्न सक्षम भएका छन् ।

यहाँ पनि सार्वजनिक तथा सरकारी संस्थानको सुधारमा दृढ र रणनीतिक सुधारका लागि अर्थमन्त्रीले आफूलाई उभ्याउन सक्छन् । यसमा अहिलेसम्म भएका काम निकै अधुरा र भद्रगोल अवस्थामा छन् । यी बाहेक सेयर बजार र वैदेशिक मुद्रा सटही प्रणालीमा पनि झु रोङ झिले खास सुधार गरे ।

सीधा र प्रस्ट रुपमा भन्दा खुलापन र सुधारपछिको अवस्थामा देखिएका कयौं असफलता र बजारका स्वार्थहरुको उपयुक्त व्यवस्थापन तथा सही तीव्र नयाँ चरणको गतिशील अर्थ राजनीतिक सुधारको तीव्र कार्यान्वयनबाट मात्र समृद्धिको बाटो सम्भव भएको थियो ।

अहिले पनि यस्ता सुधार अझै स्पष्ट र गतिशील रुपमा अघि बढिरहेका छन् । माओवादीका युवा नेता पुनले अर्थमन्त्रीको रुपमा माओवादकै केन्द्र चीनको अर्थतन्त्रमा भएका गतिशील सुधारबाट सिक्न ढिलाइ नगरे सुखद् परिणामका लागि धेरै समय कुर्नुपर्ने छैन ।

प्रतिक्रिया दिनुहोस्