• Menu

राष्ट्र बैंकले गर्नुपर्ने यी तीन काम, जसले सेयर बजारमा ल्याउन सक्छ उत्साह

नेपाल प्रफिट

२०८० चैत १८, १०:५३

राष्ट्र बैंकले गर्नुपर्ने यी तीन काम, जसले सेयर बजारमा ल्याउन सक्छ उत्साह

काठमाडौं । २०७८ भदौ २ गते नेप्से ३२१८.८६ विन्दुसम्म पुग्यो । नेपालको सेयर बजारको इतिहासमा नेप्से परिसूचकको सर्वाधिक उचाइ यही हो । कारोबार बन्द हुँदा भने नेप्से ३१९८.६ अंकमा कायम रह्यो ।

सेयर बजारले बुलिस यात्रा तय गरिरहेका बेला त्यस सयममा २०७८ साउन ३१ गते हालसम्मकै ठूलो परिमाण अर्थात् २१ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएको थियो । त्यसबेला दैनिक २० अर्ब रुपैयाँभन्दा बढीको कारोबार धेरै दिन भएका थिए ।

नेप्से सर्वाधिक उचाइमा पुगेका दिन पनि २१ अर्ब ३१ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो । बजार पुँजीकरण ४४ खर्ब रुपैयाँभन्दा माथि पुगेको थियो ।

ब्याजदर र सेयर बजारबीच विपरीत सम्बन्ध रहन्छ । ब्याजदर बढ्दा बजार घट्छ भने ब्याजदर घट्दा बजार बढ्छ ।

कोभिड १९ ले लगानीका धेरै क्षेत्र बन्द भएका बेला सस्तिएको ब्याजदरले दुई वर्षअघि पनि सेयर बजार बढाउन ठूलो भूमिका खेलेको थियो । कोरोना महामारी नियन्त्रणमा लिन सरकारले २०७६ चैतदेखि लकडाउन घोषणा गर्‍यो ।

कर्जाको भारित औसत ब्याजदर २०७६ पुस र माघमा समान ११.९४ प्रतिशत थियो भने फागुनमा ११.८ र चैतमा ११.७७ प्रतिशत थियो ।

त्यसपछि लगातार ओरालो लागेको ब्याजदर २०७८ असारमा ८.४३ प्रतिशतसम्म झरेको थियो । त्यही बेला बजारले ऐतिहासिक उचाइ बनाएको थियो ।

त्यसपछि नेपाल राष्ट्र बैंकले कर्जा प्रवाहमा केही कडाइ गर्ने नीति लियो । कर्जाको दुरुपयोग गरी सेयर बजार र घरजग्गामा गएको अनुमानमा राष्ट्र बैंकले केही नीति पुनरावलोकन गर्‍यो ।

बढ्दो ब्याजदरले यसै पनि सेयर बजारमा दबाबमै थियो । जोखिम भार बढाउने, ४/१२ को सीमा लगाउने र बैंकहरुले सेयर सक्ने तर बेच्न अफ्ठ्यारो हुने खालका नीति केन्द्रीय बैंकले लियो । जसका कारण लगानीकर्ता थप निरुत्साहित भए । यद्यपि, केन्द्रीय बैंकको उद्देश्य नै त्यही थियो ।

बैंकहरुको कर्जा प्रवाह व्यापक बढेको थियो । कर्जा निक्षेप अनुपात कतिपय बैंकको ९० प्रतिशत हाराहारी पुगेको थियो । तरलता अभाव बढ्दै जाँदा लगातार ब्याज बढ्यो । २०७९ माघ र फागुनमा कर्जाको भारित औसत ब्याजदर १३.०३ प्रतिशतसम्म पुग्यो ।

तर, लगातारको ब्याजदर वृद्धि र समग्र मागमा आएको कमीले त्यसपछि कर्जाको मागमा व्यापक गिरावट आयो । आर्थिक वर्ष २०७९/८० मा कर्जा प्रवाह वृद्धिदर ३.४२ प्रतिशतमा सीमित भयो ।

अहिलेसम्म पनि कर्जाको माग बढ्न सकेको छैन । यो वर्ष पनि ६ महिनासम्मको कर्जाको वृद्धिदर ४.२६ प्रतिशतमा सीमित छ, जबकि राष्ट्र बैंकको लक्ष्य ११.५ प्रतिशत छ । अहिले सीडी रेसियो ८० प्रतिशतभन्दा तल झरेको छ ।

कर्जाको माग निकै सुस्त भएपछि ब्याजदर भने त्यसयता लगातार घटिरहेको छ । राष्ट्र बैंकका अनुसार माघमा कर्जाको भारित औसत ब्याजदर ११.०८ प्रतिशतमा झरिसकेको छ । कतिपय बैंकले १० प्रतिशतमा केही मात्र बढाएर कर्जा प्रवाह गर्न थालिसकेका छन् । तर, पनि सेयर बजार भने माथि उठ्ने खासै संकेत देखिएको छैन ।

लगानीकर्ताले यसका केही कारण औंल्याएका छन्-

पहिलो कारण हो- राष्ट्र बैंकले ४/१२ को सीमा नहटाउनु, बढाएर १५/२० मात्र बनाउनु । त्यो सीमा नै जरुरी नभएको लगानीकर्ताको बुझाइ छ ।

१५/२० को प्रावधान हटाए पनि पनि राष्ट्र बैंकले तोकेको कर्जा प्रवाह गर्ने सीमाभन्दा बढी कर्जा प्रवाह गर्न बैंकहरुले नसक्ने भएपछि १५/२० को सीमा राख्नुको कुनै अर्थ नहुने उनीहरुको बुझाइ छ ।

अर्को कारण हो- जोखिम भार । अहिले सेयर कर्जाको जोखिम भार १२५ प्रतिशतमा झारिएको छ । त्यसलाई शतप्रतिशतमा झारिदिने हो भने पनि लगानीकर्तामा धेरै आशा जाग्ने थियो ।

र, तेस्रो कारण हो- बैंक तथा वित्तीय संस्थालाई सेयर बिक्रीमा लगाइएको एक प्रकारको ‘प्रतिबन्ध’ । अहिले बैंकहरुले सेयर किन्न सक्छन् तर वार्षिक १ प्रतिशतभन्दा बढी बेच्न सक्दैनन् ।

राष्ट्र बैंकले यी तीन काम गर्ने हो भने सेयर बजारले गति लिने बुझाइमा लगानीकर्ता छन् । अहिलेको अवस्थामा राष्ट्र बैंकले लिएका कसिला नीतिहरुलाई खुकुलो बनाउनैपर्ने नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन् ।

यसबाहेक उनले पुँजीगत लाभकर संस्थागतलाई ४ प्रतिशत र प्राकृतिक व्यक्तिलाई २.५ प्रतिशत कायम गरी १ वर्षभन्दा बढी समय सेयर होल्ड गर्ने सबैलाई लाभकर १ प्रतिशतमात्र कायम गरिदिने हो भने बजार लयमा आउने अपेक्षा गरेकी छन् ।

नेपालको धितोपत्र बजारको दिगो विकास, विस्तार र स्थायित्वका जति नै बहस गरे पनि सानातिना समाचार, घटना, राजनीति र राष्ट्र बैंकको मौद्रिक नीतिबाट बढी निर्देशित वा प्रभावित हुने गरेको उनको बुझाइ छ ।

‘यो अवस्था कसरी अन्त्य गर्न सकिएला भन्नेमा हामीले माननीय अर्थमन्त्री वर्षमान पुनज्यूसँग सेयर बजारका तमाम समस्याका विषयमा छलफल गरेका छौं,’ उनले भनिन्, ‘आशा छ, अर्थमन्त्रीज्यूका तर्फबाट यसका केही काम हुनेछ ।’

अब सानोतिनो र टालटुले परिवर्तनले बजारको सुधार सम्भव नभएको उनले बताइन् । ‘मौद्रिक नीतिमार्फत कसिलो बनेका नीति अब फुकुवा हुनुपर्छ, सुधारसँगै स्थिर नीति आवश्यक छ,’ उनले भनिन्, ‘जुनसुकै लगानी थप गराउन सबैभन्दा पहिला आर्थिक नीति स्थिर छ भन्ने विश्वास विश्व जगतमा हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्