• Menu

नयाँ ब्रोकर कमिसन लागू, सेयर किनबेच गर्दा अब कति तिर्नुपर्छ ?

नेपाल प्रफिट

२०८१ जेठ १, १०:५७

नयाँ ब्रोकर कमिसन लागू, सेयर किनबेच गर्दा अब कति तिर्नुपर्छ ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले घटाएर निर्धारण गरेको नयाँ ब्रोकर कमिसन मंगलबार (जेठ १) बाट कार्यान्वयनमा आएको छ । २०८० कात्तिक १ गतेको ब्रोकर कमिसन घटाउने निर्णय ७ महिनापछि अर्थ मन्त्रालयले स्वीकृत गरेपछि बोर्डले जेठ १ बाट लागू गरेको हो ।

अब लगानीकर्ताले ५० हजार रुपैयाँसम्मको सेयर किनबेच गर्दा ०.३६ प्रतिशत, ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको किनबेचमा ०.३३ प्रतिशत, ५ लाखदेखि २० लाख रुपैयाँसम्मको किनबेचमा ०.३१ प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्मको किनबेचमा ०.२७ प्रतिशत र १ करोड रुपैयाँमाथिको सेयर किनबेचमा ०.२४ प्रतिशत ब्रोकर कमिसन तिर्नुपर्ने भएको छ ।

यसअघि लगानीकर्ताले ५० हजार रुपैयाँसम्मका लागि ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाख रुपैयाँसम्मका लागि ०.३७ प्रतिशत, ५ लाखदेखि २० लाख रुपैयाँसम्मका लागि ०.३४ प्रतिशत, २० लाखदेखि १ करोड रुपैयाँसम्मका लागि ०.३० प्रतिशत र १ करोड रुपैयाँमाथि ०.२७ प्रतिशत ब्रोकर कमिसन शुल्क तिर्दै आएका थिए ।

अर्थमन्त्री वर्षमान पुनले मन्त्रीस्तरीय निर्णय गर्दै ब्रोकर कमिसन घटाउने निर्णयसहितको धितोपत्र बोर्डको प्रस्ताव स्वीकृत गरेका थिए । अर्थमन्त्रीको स्वीकृतिपछि गत साता बसेको बोर्ड सञ्चालक समिति बैठकले नयाँ ब्रोकर कमिसन जेठ १ बाट कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो ।