काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले २५औँ वार्षिक साधारण सभा असोज २८ गते बुधबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बोलाएको छ। सभा बिहान ९ बजे सुरु हुनेछ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरिएको लाभांश पारित गर्नेछ। बैंकले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
यस्तै, अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीलाई १३६ दिनको समानुपातिक आधारमा ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ। प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावसमेत सभाले अनुमोदन गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १६ गते बुकक्लोज गर्ने जनाएको छ। त्यसअनुसार असोज १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश स्वीकृत भएपछि प्राप्त गर्न सक्नेछन्।