• Menu

चांगान निभो क्यू०५ चीनको कम्प्याक्ट एसयूभी सेग्मेन्टमा लगातार पाँचौँ महिना पनि शीर्ष स्थानमा

नेपाल प्रफिट

२०८३ असोज ५, सोमबार १४:१२

चांगान निभो क्यू०५ चीनको कम्प्याक्ट एसयूभी सेग्मेन्टमा लगातार पाँचौँ महिना पनि शीर्ष स्थानमा

काठमाडौं । चांगान निभो क्यू०५ ले चीनको कम्प्याक्ट एसयूभी बजारमा आफ्नो बलियो प्रदर्शनलाई निरन्तरता दिएको छ। सन् २०२६ को अगस्टमा १७ हजार ३४९ युनिट बिक्री गर्दै निभो क्यू०५ लगातार पाँचौँ महिनासम्म चीनको कम्प्याक्ट एसयूभी सेग्मेन्टमा सर्वाधिक बिक्री हुने मोडल बनेको दाबी गरिएको छ।

केही साताअघि मात्रै नेपालमा सार्वजनिक गरिएको निभो क्यू०५ ले नाडा अटो शोमा उल्लेख्य बुकिङ प्राप्त गरेको थियो। नेपाली बजारमा यसको डेलिभरी पनि केही दिनभित्र सुरु हुने जनाइएको छ।

चीनको पछिल्लो खुद्रा बिक्री तथ्यांकअनुसार निभो क्यू०५ ले अप्रिलदेखि अगस्ट २०२६ सम्म लगातार सेग्मेन्टको शीर्ष स्थान कायम गरेको छ। अप्रिलमा १५ हजार ८१४ युनिट बिक्रीबाट सुरु भएको यसको मासिक बिक्री मेमा १५ हजार ९५४, जुनमा १८ हजार ९०८ र जुलाईमा १८ हजार ८७१ युनिट पुगेको थियो। अगस्टमा भने १७ हजार ३४९ युनिट बिक्री भएको छ।

यसरी पाँच महिनामा निभो क्यू०५ का कुल ८६ हजार ८९६ युनिट खुद्रा बिक्री भएका छन्।

स्थापित प्रतिस्पर्धीलाई पछि पार्दै

अगस्टको बिक्री तथ्यांकमा निभो क्यू०५ ले टोयोटा, जिली र बीवाईडीका विभिन्न मोडललाई पछाडि पारेको बताइएको छ।

टोयोटा कोरोला क्रस १४ हजार ६७५ युनिट बिक्रीसहित दोस्रो स्थानमा रहँदा जिली बोयुए एलले १४ हजार ३०२ युनिट बिक्री गरेको छ। टोयोटा आरएभी४ को बिक्री १४ हजार ६२ युनिट रहेको छ।

त्यस्तै, विभिन्न अन्तर्राष्ट्रिय बजारमा बीवाईडी सिलायन ५ का रूपमा बिक्री हुने बीवाईडी सङ प्रो न्यू इनर्जीले १३ हजार ९५४ युनिट र जिली सिङयुए एलले १३ हजार २८७ युनिट बिक्री गरेको जनाइएको छ।

यसअनुसार अगस्टमा निभो क्यू०५ ले दोस्रो स्थानमा रहेको टोयोटा कोरोला क्रसलाई २ हजार ६७४ युनिटले पछाडि पारेको छ।

जुलाईको तुलनामा अगस्टमा निभो क्यू०५ को बिक्री केही घटे पनि पाँच महिनासम्म लगातार १५ हजारभन्दा बढी मासिक बिक्री कायम रहनुले चीनको बजारमा यसको माग स्थिर रहेको कम्पनीको दाबी छ।

स्पेस र प्रविधिमा जोड

निभो क्यू०५ को लोकप्रियताको प्रमुख कारणमा स्पेस, कम्फर्ट, प्रविधि र मूल्यको संयोजनलाई लिइएको छ। २ हजार ७३५ मिलिमिटर ह्विलबेस रहेको क्यू०५ मा फराकिलो क्याबिन, ढल्काउन मिल्ने पछाडिका सिट, व्यावहारिक लगेज क्षमता र विभिन्न स्टोरेज स्पेस उपलब्ध छन्।

यसमा सीएटीएल ब्याट्री सेल तथा ३सी फास्ट चार्जिङ प्रविधि प्रयोग गरिएको छ। उपयुक्त चार्जिङ अवस्थामा ब्याट्रीलाई करिब १५ मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिने दाबी गरिएको छ।

आधुनिक बाह्य डिजाइन, एरोडाइनामिक प्रोफाइल, स्मार्ट फिचर तथा प्रिमियम शैलीको इन्टेरियरले पनि क्यू०५ लाई युवा तथा प्रविधिप्रेमी ग्राहक लक्षित मोडलका रूपमा प्रस्तुत गरेको छ।

चीनको कम्प्याक्ट एसयूभी बजारमा लगातार पाँच महिनाको बिक्री नेतृत्वपछि अब नेपाली बजारमा यसको प्रदर्शनलाई चासोका साथ हेरिएको छ। नाडा अटो शोमा प्राप्त बुकिङपछि नेपालमा डेलिभरी सुरु हुन लागेकाले नेपाली ग्राहकबीच यसको बजार प्रतिक्रिया कस्तो रहनेछ भन्ने आगामी दिनमा स्पष्ट हुने देखिन्छ।

सम्बन्धित समाचार