• Menu

सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास प्रदर्शनीमा, ७७ लाख ५० हजारमै घर र जग्गा

नेपाल प्रफिट

२०८३ भदौ २८, आइतबार १६:४९

सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास प्रदर्शनीमा, ७७ लाख ५० हजारमै घर र जग्गा

काठमाडौं । असोज १ गतेदेखि भृकुटीमण्डपमा सुरु हुन गइरहेको ‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास प्रदर्शनी’मा ७७ लाख ५० हजार रुपैयाँमै घर र जग्गा उपलब्ध गराउने योजना सार्वजनिक गरिएको छ। आफ्नै घरको सपना देखिरहेका मध्यम वर्गीय उपभोक्ताका लागि काठमाडौंमा हुन लागेको सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनीले सुलभ मूल्यदेखि भारी छुटसम्मका विकल्प अघि सारेको छ ।

प्रदर्शनीमा ५ हजार रुपैयाँमै टोकन बुकिङ गर्न सकिने प्रस्ताव सार्वजनिक गरिएको छ। काठमाडौं नजिकै तीन कोठासहितको दुईतले घर करिब १ करोड ४० लाख रुपैयाँसम्ममा उपलब्ध गराउने अवधारणासमेत प्रदर्शनीमा प्रस्तुत गरिँदैछ।

असोज १ देखि ४ गतेसम्म भृकुटीमण्डपमा हुने प्रदर्शनीमा सहभागी व्यवसायीहरूले घर तथा जग्गा खरिदलाई सहज बनाउन विभिन्न सुविधा अघि सारेका छन्। प्रदर्शनी आयोजना तथा तयारी समितिका संयोजक रोशन भोयद्योका अनुसार ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार छानी-छानी घर तथा जग्गा खरिद गर्न सक्नेछन्। घर निर्माण गर्न चाहनेले निर्माणको जिम्मेवारीसमेत कम्पनीलाई दिन सक्ने व्यवस्था गरिएको छ। यसका अतिरिक्त घरजग्गा क्षेत्रमा साझेदारीमा लगानी गर्ने अवसरसमेत उपलब्ध गराइने कम्पनीले जनाएको छ।

जग्गा खरिदमा २५ प्रतिशतसम्म छुटसँगै ५ हजार १ रुपैयाँमा टोकन बुकिङ गर्दा पनि जग्गा चित्त नबुझेमा टोकन रकम फिर्ता हुने व्यवस्था गरिएको छ। घरजग्गा कारोबार सुस्ताइरहेको समयमा काठमाडौंमा आयोजना हुन लागेको प्रदर्शनीमा उपभोक्तालाई लक्षित गर्दै विभिन्न मूल्य र सुविधाका आवास तथा जग्गा खरिदका विकल्प सार्वजनिक गरिएका छन्।

‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’

‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ ‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी’ आयोजना गर्न लागिएको हो। नेपालमा सुरक्षित, सुव्यवस्थित एवं वैज्ञानिक बस्ती विकास गरी दिगो सहरीकरणलाई प्रवर्धन गर्ने मुख्य उद्देश्यका साथ प्रदर्शनी आयोजना गरिएको आयोजकले जनाएको छ।

नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजना एवं नेपाल चेम्बर अफ कमर्सको ७५औँ हिरक जयन्तीको ऐतिहासिक अवसरमा चेम्बरसहितको सहकार्यमा प्रदर्शनी आयोजना हुन लागेको हो। प्रदर्शनीको व्यवस्थापन ‘सिया इभेन्ट एसोसिएट्स प्रालि.’ले गरिरहेको छ।

आयोजक नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष दीपक कुँवरले प्रदर्शनीका अवसरमा सुलभ मूल्यको आवासीय घर निर्माणको अवधारणा सार्वजनिक गरेका छन्। उनका अनुसार काठमाडौंमा घर बनाउने सपना बोकेका मध्यम तथा श्रमजीवी वर्गलाई लक्षित गर्दै, विशेषगरी नुवाकोट र रसुवा जिल्लाका नागरिकलाई पायक पर्ने काठमाडौं नजिकैको क्षेत्रमा १ करोड ४० लाख रुपैयाँसम्मको बजेटमा तीन कोठासहितको दुईतले घर उपलब्ध गराउने अवधारणा अघि सारिएको हो।

कुँवरका अनुसार धेरै घर निर्माण गरेर कम नाफामा बिक्री गर्ने अर्थात् ठूलो परिमाणमा उत्पादनमार्फत लागत घटाउने अवधारणामा यस्ता आवासीय घर विकास गर्ने योजना बनाइएको छ। ग्रान्डी डेभलपर्सलगायत कम्पनीमार्फत यस्ता आवासीय घर प्रदर्शनीमा प्रस्तुत गरिने जानकारी उनले दिएका छन्।

प्रदर्शनीका सल्लाहकार एवं नेपाल जग्गा तथा आवास विकास महासंघका वरिष्ठ कानुनी सल्लाहकार डा. गोकुलप्रसाद बुर्लाकोटीका अनुसार अहिले घरजग्गा बजारमा उच्च मूल्यका कारण मध्यम वर्गका उपभोक्ताले आफ्नै घरको सपना पूरा गर्न कठिनाइ भोगिरहेका छन्। त्यसैले ठूलो परिमाणमा घर निर्माण गरी तुलनात्मक रूपमा सुलभ मूल्यमा बिक्री गर्ने अवधारणा अघि सारिएको हो।

उनले प्रदर्शनीमा घर तथा जग्गा खरिद गर्न चाहने उपभोक्ताले विक्रेतासँग प्रत्यक्ष संवाद गरी परियोजनाको स्थान, मूल्य, निर्माणको अवस्था, भुक्तानी प्रक्रिया र अन्य सर्तबारे जानकारी लिन सक्ने बताए।

आयोजकका अनुसार घरजग्गा खरिद-बिक्री र निर्माणसम्बन्धी निःशुल्क परामर्शसमेत उपलब्ध हुनेछ। बैंक तथा वित्तीय संस्थाको सहभागिताका कारण सम्भावित घर खरिदकर्ताले आवासीय कर्जा, लगानी र वित्तीय व्यवस्थापनसम्बन्धी जानकारीसमेत एउटै स्थानबाट लिन सक्नेछन्। पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएको र ब्याजदर घट्दो क्रममा रहेकाले घरजग्गा क्षेत्रमा कर्जा प्रवाह बढाउने सम्भावनालाई समेत प्रदर्शनीले जोड दिएको छ।

निर्माण सामग्री र प्रविधिको प्रदर्शन

यसपटकको प्रदर्शनीमा घर तथा जग्गासँगै निर्माण सामग्री तथा प्रविधिका उत्पादन पनि प्रदर्शन गरिनेछन्। सिमेन्ट, स्टिल, पेन्ट, काठ, सिसा, सरसफाइ सामग्री, विद्युतीय उपकरण, फर्निचर, भित्री सजावट, सौर्य ऊर्जा, वर्षाको पानी संकलन तथा फोहोर व्यवस्थापन प्रविधिसम्मका सामग्री तथा सेवा प्रदर्शनीमा रहनेछन्।

घर निर्माण गर्नुअघि प्राविधिक पक्ष बुझ्न चाहनेका लागि भूकम्पप्रतिरोधी घर निर्माण र वास्तुशास्त्रसम्बन्धी निःशुल्क परामर्शको व्यवस्था पनि गरिएको छ। यसले घरको नक्सा, संरचनागत सुरक्षा तथा निर्माण प्रविधिबारे विज्ञसँग प्रत्यक्ष छलफल गर्ने अवसर दिनेछ।

निःशुल्क स्वास्थ्य शिविर र रक्तदान

प्रदर्शनी अवधिमा स्वास्थ्यसम्बन्धी सामाजिक कार्यक्रमसमेत सञ्चालन हुनेछन्। आयोजकका अनुसार ओम अस्पताल र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुनेछ भने रक्तदान कार्यक्रमसमेत आयोजना गरिनेछ।

प्रविधिमैत्री प्रदर्शनी

यसपटकको प्रदर्शनीलाई प्रविधिमैत्री बनाउने प्रयाससमेत गरिएको छ। डिजिटल प्रदर्शनी कक्ष, विद्युतीय जानकारी केन्द्र, डिजिटल प्रदर्शन तथा भर्चुअल वास्तविकता प्रविधिको प्रयोग गरिने आयोजकले जनाएको छ।

कागजी सामग्रीको प्रयोग घटाउँदै प्रदर्शनीलाई ‘कागजरहित प्रदर्शनी’ बनाउने लक्ष्यसमेत राखिएको छ।

यसैगरी घर निर्माण गर्न चाहनेहरूका लागि इन्जिनियर, वास्तुविद् तथा निर्माण क्षेत्रका विज्ञबाट प्राविधिक परामर्श लिन सकिनेछ। भूकम्पप्रतिरोधी संरचना, घरको नक्सा, निर्माण सामग्रीको छनोट, लागत व्यवस्थापन तथा सुरक्षित निर्माण प्रविधिबारे जानकारी लिन सकिने आयोजकले जनाएको छ।

वातावरणमैत्री निर्माणमा जोड

प्रदर्शनीमा हरित तथा वातावरणमैत्री निर्माण प्रविधिलाई समेत प्राथमिकता दिइएको छ। सौर्य ऊर्जा, वर्षाको पानी सङ्कलन, फोहोर व्यवस्थापन तथा ऊर्जा-दक्ष प्रविधिसम्बन्धी सामग्री र समाधानबारे जानकारी लिन सकिनेछ।

बढ्दो ऊर्जा लागत र जलवायुजन्य जोखिमका बीच दिगो आवास निर्माणका विकल्पबारे उपभोक्तालाई जानकारी दिने उद्देश्यसमेत आयोजकको रहेको छ।

युवाका लागि तालिम तथा व्यावसायिक परामर्श

नयाँ व्यवसाय सुरु गर्न चाहने युवालाई लक्षित गर्दै तालिम तथा व्यावसायिक परामर्शको सुविधा पनि राखिएको छ। छनोट भएका नयाँ तथा युवा उद्यमीलाई निःशुल्क तालिम र परामर्श उपलब्ध गराउने योजना आयोजकले अघि सारेको छ।

यसले निर्माण तथा आवास क्षेत्रमा नयाँ उद्यमशीलता विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

मेलाको मुख्य प्रायोजक सिजी प्रोपर्टिज/सिजी होल्डिङ्स, पावर प्रायोजक एसियन पेन्ट्स, मुख्य साझेदार प्रभु इन्स्योरेन्स तथा सहयोगी निकायका रूपमा स्मार्ट पानी, केबी र यूएचए होल्डिङ्सलगायत रहेका छन्।