• Menu

गाडीमा क्यामेरा राखेर मात्र पुग्दैन, अनुगमन खोई ? : अध्यक्ष बानियाँ

नेपाल प्रफिट

२०८३ भदौ २४, बुधबार १५:५५

गाडीमा क्यामेरा राखेर मात्र पुग्दैन, अनुगमन खोई ? : अध्यक्ष बानियाँ

काठमाडौं । नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले सरकारले यातायातसम्बन्धी नयाँ कानुन ल्याउँदा त्यसको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक उपकरण, बजेट, जनशक्ति र संस्थागत संयन्त्रसमेत तयार गर्नुपर्ने बताएका छन्।

बागमती टिपर व्यवसायी संघको १२औँ वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन सत्रलाई बनेपामा सम्बोधन गर्दै अध्यक्ष बानियाँले कानुन बनाउने तर कार्यान्वयनका लागि आवश्यक संयन्त्र निर्माण नगर्ने प्रवृत्तिले समस्या सिर्जना गरिरहेको बताए।

उनले सवारीसाधनमा ड्यास क्यामेरा तथा अन्य क्यामेरा जडान गर्ने विषय सकारात्मक भए पनि त्यसबाट प्राप्त विवरणको अनुगमन र प्रयोग कसले गर्ने भन्ने स्पष्ट हुनुपर्ने बताए। व्यवसायीले २०-३० हजार रुपैयाँ खर्च गरेर उपकरण जडान गरे पनि त्यसको प्रभावकारी अनुगमन गर्ने निकाय नहुँदा त्यस्ता उपकरणको औचित्यमाथि प्रश्न उठ्ने उनको भनाइ थियो।

‘हामी क्यामेरा राख्छौँ, २०-३० हजार रुपैयाँ खर्च गरेर यस्ता उपकरण राख्छौँ। तर त्यसको अनुगमन गरिदिने को हो भन्ने हाम्रो प्रश्न हो,’ उनले भने।

अध्यक्ष बानियाँले मादक पदार्थ सेवन गरी सवारी चलाउन नपाइने कानुनी व्यवस्था भए पनि त्यसको कार्यान्वयनका लागि ट्राफिक प्रहरीसँग आवश्यक उपकरण तथा परीक्षण सामग्री पर्याप्त नभएको बताए। ट्राफिक प्रहरीसँग मादक पदार्थ परीक्षण गर्ने उपकरण तथा लागुऔषध परीक्षणका लागि आवश्यक किटको अभाव रहेको भन्दै उनले व्यवसायी तथा सम्बन्धित संस्थाले समेत सहयोग गर्नुपर्ने अवस्था रहेको बताए।

उनका अनुसार एउटा लागुऔषध परीक्षण किटको मूल्य करिब ४ सय रुपैयाँ पर्छ। तर प्रहरीसँग पर्याप्त किट नहुँदा परीक्षण प्रभावकारी हुन नसकेको उनले बताए। कानुन कार्यान्वयनका लागि बजेट मात्र छुट्याएर नपुग्ने भन्दै आवश्यक जनशक्ति र उपकरणको व्यवस्था पनि सँगसँगै गर्नुपर्नेमा उनले जोड दिए।

‘कानुन ल्याउने हो भने त्यो कानुन कार्यान्वयन गर्न बजेट विनियोजन गर्नुपर्छ। बजेटसँगै आवश्यक जनशक्ति पनि तयार गर्नुपर्छ,’ उनले भने।

अध्यक्ष बानियाँले नेपालमा कति सवारीसाधन सञ्चालनमा छन् भन्ने यकिन तथ्यांकसमेत सरकारसँग नरहेको दाबी गरे। प्रदेश संरचनामा गएपछि सातै प्रदेशले आफ्नै ढंगले सवारीसाधन दर्ता गर्ने भएकाले केन्द्रमा एकीकृत तथ्यांकको अभाव रहेको उनको भनाइ थियो।

विशेषगरी ट्रक, टिपर, डोजर, लोडर, एक्स्काभेटरलगायत मालवाहक तथा निर्माण क्षेत्रमा प्रयोग हुने सवारीसाधनको यकिन संख्या सरकारसँग नहुँदा तथ्यमा आधारित यातायात नीति बनाउन कठिन हुने उनले बताए।

‘अहिले कति सवारीसाधन छन् भन्ने कुरा नै नेपाल सरकारलाई थाहा छैन। केन्द्रित तथ्यांक नभएको अवस्थामा सरकारले कसरी यातायात नीति ल्याउने?’ उनले प्रश्न गरे।

यातायात नीति बनाउँदा आगामी पाँच वर्षमा सडक दुर्घटना, मृत्यु र घाइतेको संख्या कति घटाउने भन्ने स्पष्ट लक्ष्य निर्धारण गर्नुपर्ने उनको भनाइ थियो। सडक दुर्घटनामा दैनिक औसत सात जनाको मृत्यु हुने र ठूलो संख्यामा नागरिक घाइते हुने अवस्था रहेको उल्लेख गर्दै उनले पाँच वर्षभित्र दुर्घटनाबाट हुने मृत्यु तथा घाइतेको संख्या उल्लेख्य रूपमा घटाउने लक्ष्यसहितको नीति आवश्यक रहेको बताए।

‘यातायात नीतिले अबको पाँच वर्षभित्र प्रतिदिन सात जनाको मृत्यु हुने दरलाई तीन जनामा झार्ने, दुर्घटनामा घाइते हुनेको संख्या पनि उल्लेख्य रूपमा घटाउने लक्ष्य लिनुपर्छ,’ उनले भने।

नीति निर्माणका लागि सही तथ्यांक आवश्यक पर्ने भन्दै बानियाँले यातायात क्षेत्रसँग सम्बन्धित तथ्यांक संकलन, व्यवस्थापन र अनुगमन गर्ने प्रभावकारी संस्थागत संरचना निर्माण गर्न सरकारसँग आग्रह गरे। कानुन र नीति बनाउने मात्र नभई त्यसको कार्यान्वयन सुनिश्चित गर्ने निकायसमेत निर्माण गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा अध्यक्ष बानियाँले पछिल्लो समय प्राकृतिक विपत्तिका कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।

बागमती टिपर व्यवसायी संघले महासंघलाई सम्मान गर्दै १२औँ वार्षिक साधारण सभा तथा अधिवेशनमा प्रमुख अतिथिका रूपमा आमन्त्रण गरेकोमा उनले आयोजकप्रति आभार व्यक्त गरे।

देशको बदलिँदो परिस्थिति र संकटका बीच भौतिक पूर्वाधार तथा विकास निर्माणमा प्रत्यक्ष संलग्न व्यवसायीले चुनौतीलाई अवसरका रूपमा लिएर अघि बढ्नुपर्ने उनले बताए। मालवाहक सवारीसाधन क्षेत्र देशको भौतिक पूर्वाधार तथा विकास निर्माणको महत्वपूर्ण आधार रहेको उल्लेख गर्दै व्यवसायीका समस्या समाधानका लागि सरकारसँग निरन्तर समन्वय आवश्यक रहेको उनको भनाइ थियो।