मकवानपुर । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, हेटौंडामा १६ शय्याको अन्तरङ्ग सेवा सुरु गर्ने तयारी गरिएको छ।
आयुर्वेद चिकित्साप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएपछि चिकित्सालयले अन्तरङ्ग सेवा सञ्चालन गर्न लागेको हो। सेवाका लागि आवश्यक पूर्वाधार तथा चिकित्सक उपलब्ध भए पनि नर्सिङतर्फ थप जनशक्ति आवश्यक रहेको चिकित्सालयका प्रमुख डा. अमूल्य दाहालले जानकारी दिए ।
अन्तरङ्ग सेवा सञ्चालनका लागि न्यूनतम चार जना नर्सिङ कर्मचारी आवश्यक रहेको दाहालले बताए। आवश्यक जनशक्ति उपलब्ध भएसँगै सेवा सञ्चालनमा ल्याइने उनको भनाइ छ ।
चिकित्सालयमा हाल बहिरङ्ग सेवासहित फिजियोथेरापी, प्रयोगशाला, पूर्वकर्म तथा पञ्चकर्म र अक्युपन्चर सेवा सञ्चालन हुँदै आएका छन् ।
चिकित्सालयबाट दैनिक करिब दुई सय जनाले उपचार सेवा लिइरहेको सूचना अधिकारी अशोककुमार झाले जानकारी दिए ।