• Menu

मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक, भोटेकोशी बाढी प्रभावितलाई विशेष राहतदेखि सार्वजनिक बिदासम्म

नेपाल प्रफिट

२०८३ भदौ १८, बिहीबार १६:३८

मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक, भोटेकोशी बाढी प्रभावितलाई विशेष राहतदेखि सार्वजनिक बिदासम्म

काठमाडौं । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका सात मुख्य निर्णय सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकका निर्णय सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेका हुन्।

मन्त्रिपरिषद्ले भोटेकोशी बाढी प्रभावितको उद्धार तथा राहत, व्यवसाय पुनर्स्थापना, चिनी आयात, बाढी प्रभावित क्षेत्रमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवकलाई सुविधा, सार्वजनिक बिदा र राष्ट्रिय शोकलगायतका विषयमा निर्णय गरेको छ।

यस्ता छन् मन्त्रिपरिषद्का ७ मुख्य निर्णय

१. भोटेकोशी बाढी प्रभावितका लागि ५ मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने

एसियाली विकास बैंकबाट भोटेकोशी बाढी प्रभावित नागरिकको जीवनरक्षा तथा तत्कालीन आपत्कालीन उद्धार र राहतका लागि प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ।

२. बाढी प्रभावित उद्योग तथा व्यवसायलाई राहत र सहुलियत

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित व्यक्ति, उद्योग, व्यापार तथा व्यवसायलाई तत्काल सञ्चालनमा ल्याउन एकीकृत व्यवसाय पुनर्स्थापना योजनाअन्तर्गत राहत, कर तथा महसुललगायत विभिन्न सहुलियत तथा सुविधा उपलब्ध गराउने निर्णय भएको छ।

३. २५ हजार मेट्रिक टन चिनी आयात गर्ने

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत कुल २५ हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिइएको छ। उक्त चिनी १ प्रतिशत भन्सार महसुलमा आयात गर्न अनुमति दिने निर्णय गरिएको छ।

४. उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई सुविधा

भोटेकोशी बाढीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय भएको छ। उद्धारका क्रममा घाइते भए निःशुल्क औषधोपचार तथा मृत्यु भए निजको परिवारलाई प्रतिमृतक १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरिएको छ।

५. भदौ २३ गते सार्वजनिक बिदा

विसं २०८३ साल भदौ २३ गते जेनजी शहीद दिवसका अवसरमा नेपालभर सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।

६. भदौ २२ गते राष्ट्रिय शोक मनाउने

विसं २०८३ साल भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रमा पर्ने रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण मृत्यु भएकाहरूको सम्मानमा भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरिएको छ।

उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।

७. नारायणप्रसाद भट्टलाई सचिवमा बढुवा र कोशी प्रदेशको मुख्यसचिवमा पदस्थापन

नेपाल प्रशासन सेवा समूहकीकरणतर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा नारायणप्रसाद भट्टलाई बढुवा गर्ने निर्णय भएको छ। उनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी प्रदेशको मुख्यसचिव पदमा पदस्थापन गर्ने निर्णयसमेत गरिएको छ।