काठमाडौं । माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत केन्द्रमा बाढीपछि प्रभावित संरचनामा फसेका कर्मचारी तथा कामदारको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। केन्द्रको विद्युतगृह क्षेत्रमा जमेको लेदो तथा माटो हटाउँदै नेपाली सेनाको टोली सुरुङभित्र प्रवेश गर्न सफल भएको छ ।
उद्धारसम्बन्धी पछिल्लो विवरणअनुसार सुरुङको मुखबाट करिब १५ फिटभित्रसम्म रहेको लेदो तथा माटो हटाएपछि नेपाली सेनाको टोली त्यहाँसम्म प्रवेश गर्न सफल भएको हो। थप अगाडिसम्म पुगेर खोजी तथा उद्धार गर्ने प्रयास निरन्तर भइरहेको जनाइएको छ ।
यसैगरी, दिनरात निरन्तर काम गरी सुरुङभित्र जमेको पानी निकास गर्नसमेत सम्भव भएको छ। उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक सबै साधनस्रोत परिचालन भइरहेको जनाइएको छ।
खोज तथा उद्धार कार्यका क्रममा कुनै पनि सामग्री तथा खाद्यान्नको अभाव हुन नदिन आवश्यक बजेट, सामग्रीको प्राप्ति, खर्च तथा त्यसको अभिलेख व्यवस्थापन गर्ने निर्णयसमेत गरिएको छ ।
यसका साथै खोज तथा उद्धार समितिसँग समन्वय गरी प्राधिकरणको सम्पर्कमा आएका तथा सम्पर्कमा नआएका सम्पूर्ण कर्मचारी र कामदारको विवरण अद्यावधिक गर्ने व्यवस्था गरिएको छ । सम्पर्क हुन नसकेका कर्मचारी तथा कामदारका परिवारको पीरमर्का तथा गुनासो सुन्ने र आवश्यक सहयोग तथा समन्वय गर्ने उद्देश्यले जनसाधन विभागका निर्देशकको संयोजकत्वमा छुट्टै समिति गठन गर्ने निर्णय भएको छ ।
हालसम्म सम्पर्कमा नआएका कर्मचारी तथा कामदारका केही आफन्तलाई बाढीबाट क्षतिग्रस्त माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत उत्पादन केन्द्रको विद्युतगृह स्थलसम्म पुग्ने व्यवस्था पनि गरिएको छ ।
२०८३ साल भदौ १० गते त्रिशूली र भोटेकोशी नदीमा आएको भीषण बाढीबाट नेपाल विद्युत प्राधिकरणका विभिन्न संरचनामा ठूलो क्षति पुगेपछि प्राधिकरणले खोज तथा उद्धारसँगै विद्युत आपूर्ति पुनः सञ्चालनका लागि विभिन्न काम अघि बढाइरहेको जनाएको छ।
प्राधिकरणले बाढीबाट क्षतिग्रस्त संरचनाको अवस्था, खोज तथा उद्धार र विद्युत आपूर्ति सुचारु गर्न भइरहेका प्रमुख काम तथा प्रगतिबारे नियमित रूपमा जानकारी सार्वजनिक गर्ने व्यवस्था मिलाएको छ।