• Menu

भोलीदेखि लगातार ५ दिन सार्वजनिक बिदा

नेपाल प्रफिट

२०८३ भदौ १८, बिहीबार १७:०५

भोलीदेखि लगातार ५ दिन सार्वजनिक बिदा

काठमाडौं । सरकारले भदौ २२ गते राष्ट्रिय शोक मनाउने र भदौ २३ गते ‘जेनजी शहीद दिवस’का अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यस निर्णयसँगै नियमित बिदासमेत जोडिँदा भोलीदेखि लगातार ५ दिन सार्वजनिक बिदा पर्ने भएको छ।

२०८३ साल भदौ १० गते नेपाल-चीन सीमास्थित रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको सम्मानमा सरकारले भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको हो । राष्ट्रिय शोकका दिन देशभरका सरकारी कार्यालयका साथै विदेशस्थित नेपाली दूतावास तथा कूटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ।

यस्तै, भदौ २३ गते मंगलबार ‘जेनजी आन्दोलन’का शहीदहरूको योगदानको कदर गर्दै सरकारले देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भदौ १९ गते शुक्रबार (श्रीकृष्ण जन्माष्टमी/गौरा पर्व), भदौ २० गते शनिबार र २१ गते आइतबार नियमित बिदासँगै भदौ २२ र २३ गतेको राष्ट्रिय शोक तथा सार्वजनिक बिदा थपिएपछि लगातार ५ दिन सरकारी कार्यालय तथा निकायहरू बन्द रहनेछन् ।

भोटेकोशी बाढी विपद्मा ठूलो जनधनको क्षति भएको भन्दै सरकारले शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै राष्ट्रिय शोक र शहीदहरूको सम्मानमा बिदा दिने निर्णय गरेको हो ।