काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरुप्रति काठमाडौं सुनचाँदी व्यवसायी संघले श्रद्धाञ्जली अर्पण गरेको छ । संघले हिजो सोमबार काठमाडौंको इन्द्रचोक डबलीमा दीप प्रज्वलनसहित श्रद्धाञ्जली तथा शोकसभा आयोजना गरेको हो । संघले बाढीमा घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।
कार्यक्रममा सांसद गणेश पराजुली, नेपाल सुनचाँदी व्यवसायी महासंघका कार्यबाहक अध्यक्ष धर्मसुन्दर बज्राचार्य, विभिन्न जिल्लाका संघका अध्यक्ष तथा प्रतिनिधि, सल्लाहकार, सदस्यहरू एवं स्थानीय जनसमुदायको उल्लेख्य सहभागिता रह्यो ।
कार्यक्रममा बाढीका कारण दिवंगत भएकाप्रति एक मिनेट मौन धारण तथा दीप प्रज्वलनसहित श्रद्धाञ्जली अर्पण गरिएको छ । साथै, मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
कार्यक्रममा संघकी अध्यक्ष रोहिनादेवी शाक्यले ‘भोटेकोशीको बाढी–पहिरो : विनाशसँगै बगेका सपना र आँसु’ शीर्षकमा कविता वाचन गरिन् । सो अवसरमा धारणी पाठसमेत वाचन गरिएको आयोजकले जनाएको छ । प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै दुःखको यस घडीमा पीडित परिवारसँग साथमा रहेको सन्देश दिन कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ ।
कार्यक्रममा सहभागी वक्ताहरूले विपद्का कारण भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतमा थप प्रभावकारी पहल आवश्यक रहेकोमा जोड दिए ।
अध्यक्ष शाक्यले वाचन गरेको कविता —
शीर्षक : भोटेकोशीको बाढी-पहिरो : विनाशसँगै बगेका सपना र आँसु
कस्तो अकल्पनीय घटना यो,
अचानक खोलानाला उर्लियो,
भोटेकोशीको भेलले बस्तीहरू बगायो ।
कसैको बास खोसियो, कसैको सास रोकियो,
कठैबरा ! हामी नेपालीले कस्तो दुःख पायौँ,
किन आयो यस्तो बाढी र पहिरो ?
फेरि कसैको घरबार छिनियो,
कसैलाई करोडपतिबाट रोडपति बनायो,
कसैको रोजगारी खोसियो,
कसैको सपना छिनियो ।
हिजो आशाले सजिएको जीवन
आज पीडा र निराशामा बदलियो—
किन आयो यस्तो बाढी र पहिरो ?
कस्तो अकल्पनीय घटना यो,
देशलाई नै स्तब्ध बनायो ।
कतै कसैको आफन्त हरायो,
कसैको खुसीको बदलामा आँसु दियो ।
हिजोको हाँसो आज आँसु बनायो,
हिजोको खुसी आज पीडामा बदलियो
किन आयो यस्तो बाढी र पहिरो ?
कसैका अभिभावक खोसिए,
कसैका छोराछोरी खोसिए ।
न त उमेरको कुनै सीमा रह्यो,
न त समयको कुनै ठेगान ।
विधिको विधान र दैवको लीला
कति कठोर र अपार रहेछ !
आज कसैको घर सुनसान छ,
कसैको आँगन रित्तिएको छ,
कसैको आँखामा आँसु छ,
कसैको मनमा जीवनभर नमेटिने पीडा ।
किन आयो यस्तो बाढी र पहिरो ?
कति सपना बगायो,
कति परिवार उजाड्यो,
कति जीवनमा कहिल्यै नमेटिने घाउ छोडेर गयो ।