काठमाडौं । एफवानसफ्ट ग्रुपले हालैको बाढीबाट प्रभावित व्यक्ति, परिवार तथा समुदायको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग गरेको छ ।
एफवानसफ्ट ग्रुपअन्तर्गतका इसेवा, फोनपे, एफवानसफ्ट इन्टरनेसनल, ईसेवा मनी ट्रान्सफर तथा समूहका कर्मचारीहरूको संयुक्त पहलमा उक्त रकम सहयोग गरिएको हो।
बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका प्रयासमा सहयोग पुर्याउने उद्देश्यले कम्पनी र कर्मचारीहरूको संयुक्त प्रयासमा रकम उपलब्ध गराइएको एफवानसफ्ट ग्रुपले जनाएको छ।
यसैबीच, इसेवा र फोनपेमार्फत बाढीपीडितका लागि व्यक्तिगत रूपमा सहयोग गर्ने प्रयोगकर्ताको संख्या पनि उल्लेख्य देखिएको छ। इसेवामार्फत हालसम्म १ लाख २९ हजार १३ जना प्रयोगकर्ताले ९ करोड ७० लाख रुपैयाँ सहयोग गरेका छन्। त्यस्तै, फोनपेमार्फत ८ लाख ६२ हजार ४४५ प्रयोगकर्ताले २ अर्ब १९ करोड रुपैयाँ सहयोग गरेका छन् ।
फोनपेमार्फत प्राप्त सहयोगमा विदेशबाट गरिएको योगदानसमेत समावेश छ। भारतबाट राष्ट्रिय भुक्तानी निगमसँग एकीकृत भुक्तानी प्रणालीमार्फत १९ हजार ८५८ जनाले ४ करोड २२ लाख रुपैयाँ तथा चीन र दक्षिणपूर्वी एसियाबाट अलिपेमार्फत २ हजार ९६५ जनाले १ करोड ६३ लाख रुपैयाँ सहयोग गरेका छन्।
एफवानसफ्ट ग्रुपले विपद्बाट प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति सहानुभूति व्यक्त गर्दै कठिन परिस्थितिबाट अघि बढ्न साहस, धैर्य र हौसला मिलोस् भन्ने कामना गरेको छ ।
साथै, प्रभावित क्षेत्रमा निरन्तर खटिएर उद्धार, राहत तथा सहयोगमा जुटिरहेका सरकारी निकाय, स्वयंसेवक, विभिन्न संघसंस्था तथा व्यक्तिहरूप्रति पनि ग्रुपले आभार व्यक्त गरेको छ ।