• Menu

फ्लाई दुबईको पोखरा उडान असोज ७ देखि, काठमाडौंभन्दा टिकट पाँच हजार सस्तो हुने

नेपाल प्रफिट

२०८३ भदौ २३, मंगलबार १६:०२

फ्लाई दुबईको पोखरा उडान असोज ७ देखि, काठमाडौंभन्दा टिकट पाँच हजार सस्तो हुने

कास्की । पोखरेली पर्यटन व्यवसायीले आगामी असोज ७ (सेप्टेम्बर २३) देखि सुरु हुने पोखरा-दुबई सिधा हवाई उडानलाई दिगो रूपमा सञ्चालन गर्नका लागि बजारीकरण तथा प्रवर्धनमा सहयोग र सहकार्यको प्रतिबद्धता जनाएका छन् ।

पोखरा-दुबई नियमित उडानबारे नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीद्वारा पोखरामा आयोजित अन्तरक्रियामा पर्यटकीय राजधानी पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्ने गरी हुन लागेको यस उडानलाई प्रभावकारी र दिगो बनाउनुपर्नेमा जोड दिइएको हो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले फ्लाई दुबईको पोखरा उडानले यहाँको पर्यटन क्षेत्रले मात्र लाभ लिने नभई सिङ्गो गण्डकी प्रदेश र मुलुककै आर्थिक गतिविधिमा टेवा पुग्ने बताए । लामो प्रतिक्षापछि पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुन लागेकाले यसको सफलतामा पोखरेलीको भविष्य जोडिएको उनको भनाइ छ ।

अध्यक्ष भुजेलले पोखरा-दुबई हवाई उडानलाई सफल र दिगो बनाउन पोखरेली पर्यटन व्यवसायी एक्यबद्ध रूपमा लागिपर्ने बताए । नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पोखरा-दुबई उडानले सफल बनाउनु सम्बद्ध सबै पक्षको दायित्व भएको उल्लेख गरे । ‘पोखरालाई विश्वास गरेर फ्लाई दुबई यहाँ आएको छ, हामी सबैले आ-आफ्नो ठाउँबाट साथ दिनुपर्छ,’ उनले भने ।

पहिलोपटक हुनलागेको यस उडानको दिगोपनाका लागि आउन सक्ने चुनौतीलाई सामाना गर्दै अवसरमा बदल्नुपर्ने उनले बताए । पर्यटकीय राजधानी पोखरालाई अन्तरराष्ट्रिय जगतमा पहिचान दिन फ्लाई दुबईको उडानले मद्दत पुग्ने उनको भनाइ छ । फ्लाई दुबईका नेपालस्थित महाप्रबन्धक नवराज शाहीले काठमाडौंभन्दा पोखराबाट हुने उडानमा टिकटको मूल्य पाँच हजारसम्म सस्तो रहेको बताए ।

उनले विश्वका १२० भन्दाबढी गन्तव्यमा फ्लाई दुबईले सिधा उडान गर्दै आएको जनाउँदै टिकट बुकिङमा सहयोग गर्न ‘नाट्टा’सँग आबद्ध व्यवसायीलाई आग्रह गरे । महाप्रबन्धक शाहीले पोखरा-दुबई उडान प्रवर्धनका क्रममा यात्रु तथा साझेदार संस्थालाई छुटलगायतका सुविधा दिइने बताए ।

कार्यक्रममा फ्लाई दुबईका दक्षिण पूर्वीएसियाका क्षेत्रीय प्रबन्धक विनोद अब्राहमले फ्लाई दुबईका सेवा र विशेषताबारे प्रस्तुतिकरण राखेका थिए । उनले पोखरा-दुबई उडान सफल भएमा अन्य अन्तरराष्ट्रिय एयरलाइन्स कम्पनी पनि पोखरामा आकर्षित हुने बताए । क्षेत्रीय प्रबन्धक अब्राहमले उडान सेवालाई दिगो र प्रभावकारी बनाउन सबै पक्षको साथ, सहयोग र एक्वबद्धता चाहिने उल्लेख गरे ।

‘नाट्टा’ गण्डकीका अध्यक्ष सङ्गीता पौडेलले पोखरा-दुबई उडान सफल हुँदा पर्यटन व्यवसायी मात्र नभई मुलुकको अन्य क्षेत्रले पनि प्रत्यक्ष लाभ लिने बताइन् । उनले पोखरेली पर्यटन व्यवसायी यस उडानको सफलता, निरन्तरताका लागि आवश्यक सहयोग र सहकार्य गर्न प्रतिबद्ध रहेको बताइन् ।

केही दिनअघि पोखरा महानगरपालिका र फ्लाई दुबइबीच पनि पर्यटन प्रवर्धन, गन्तव्यस्थलको बजारीकरण, अन्तरराष्ट्रिय हवाई सम्पर्क विस्तारलगायत पारस्परिक हितका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने विषयमा समझदारी भएको थियो ।

यस उडानले पोखराको अन्तरराष्ट्रिय हवाई सम्पर्क विस्तारसँगै पर्यटन, व्यापार तथा आर्थिक गतिविधिमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ । पोखरा-दुबई सिधा हवाई उडानलाई दिगो बनाउन पोखराका विभिन्न संघसंस्थाले चासो र अग्रसरता देखाएका छन् । उडान सेवालाई स्थायित्व दिन स्थानीयवासी र सरोकार भएका सबै पक्षको सहयोग महत्वपूर्ण हुने देखिएको छ ।

यो उडानबाट गण्डकी प्रदेश र आसपासका नागरिकलाई सोझै लण्डन, न्युयोर्क, टोकियोजस्ता विश्वाका २५० भन्दाबढी गन्तव्यमा पुग्न सहज हुने जनाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठमा फ्लाई दुबईलाई दुबई-पोखरा-दुबई दैनिक उडानका लागि अनुमति दिएको थियो ।

यसबीचमा फ्लाई दुबईले उडान तालिम सार्वजनिक गरिसकेको छ । सुरुमा एक महिनाका लागि मात्र दिनको एकपटक उडान गर्ने घोषणा गरेको फ्लाई दुबईले सन् २०२७ को मार्च २६ सम्मकै बुकिङ खुला गरिएको जनाएको छ ।

सरकारले चालु आवको नीति तथा कार्यक्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबईले उडान अनुमति पाएको थियो । विश्वव्यापी हवाई ट्रान्जिट हब दुबईसम्मको सिधा उडानले पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्नेछ ।

वैदेशिक राजगोरी, अध्ययन, घुमफिर आदिका लागि अरब मुलुकसहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणका लागि पनि यो उडान सेवा लाभदायी हुने देखिएको छ । पोखरा-दुबई उडानबाट पर्यटकीय राजधानीसमेत रहेको पोखरासहित यहाँका पर्यटकीय क्षेत्रको घुमफिरका लागि विदेशी पर्यटक सिधै पोखरा आउन सक्नेछन् ।