काठमाडौं । काठमाडौं सुनचाँदी व्यवसायी संघले हालै आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १५ लाख २५ हजार २५५ रुपैयाँ आर्थिक सहयोग जुटाएको छ ।
संघको आह्वानमा आफ्ना सदस्यहरूबाट संकलन गरिएको उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिसकिएको संघले जनाएको छ। राहत कार्यमा सहयोग पुर्याउने सम्पूर्ण सदस्यहरूलाई संघले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
त्यस्तै, सदस्यहरूबाट अझै पनि सहयोग प्राप्त हुने क्रम जारी रहेकाले संघले दोस्रो चरणको सहयोग संकलन अभियानसमेत सुरु गरेको छ । दोस्रो चरणमा संकलित रकम भने विपद् प्रभावित क्षेत्रमै प्रत्यक्ष रूपमा पुगेर आवश्यक सहयोग सामग्रीका रूपमा उपलब्ध गराइने निर्णय भएको छ।
संघले आफ्ना इच्छुक सदस्यहरू, कर्मचारीवर्ग तथा कालिगडहरूलाई क्यूआर कोडमार्फत स्वेच्छिक आर्थिक सहयोग गर्न अनुरोध गरेको छ। भुक्तानी गर्दा आफ्नो पसलको नाम उल्लेख गरी स्क्रिनसट पठाउन आग्रह गरिएको छ।
प्राप्त सहयोगको विवरण संघको वेबसाइट, फेसबुक पेज तथा साधारण सभामा पारदर्शी रूपमा प्रकाशित गरिने सचिव लेख रत्न शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।