काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आगामी असोज ६ गते अमेरिकाको न्यूयोर्क जाने भएका छन्। प्रधानमन्त्री शाह असोज ९ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।
भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रधानमन्त्री शाहले यसपटकको महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको असरलाई प्राथमिकताका साथ उठाउने तयारी गरेका छन् ।
विशेषगरी जलवायु परिवर्तनका कारण नेपालमा बढ्दै गएको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने प्रधानमन्त्रीको तयारी छ । पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण हिमाली तथा पहाडी क्षेत्रमा विपद्का घटना बढ्दै गएको विषयलाई नेपालले अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने भएको हो ।
यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल महासभामा सहभागी हुने तय भएको थियो। तर भोटेकोशी बाढीबाट ठूलो क्षति भएपछि प्रधानमन्त्री शाह स्वयं नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जाने भएका हुन् ।
प्रधानमन्त्रीको भ्रमण छोटो अवधिको हुने जनाइएको छ। असोज ६ गते न्यूयोर्क प्रस्थान गर्ने शाह असोज ९ गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्रीको नेतृत्वमा जाने नेपाली प्रतिनिधिमण्डलमा करिब १० जना सदस्य रहने बताइएको छ । महासभामा प्रधानमन्त्री शाहले जलवायु परिवर्तनबाट नेपालले भोगिरहेका चुनौती, विपद्बाट भएको क्षति तथा प्रभावित समुदायको अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायसमक्ष धारणा राख्ने तयारी गरिएको छ ।