• Menu

कुमारी बैंक ‘पीसीएएफ’मा आबद्ध, अब लगानीबाट हुने कार्बन उत्सर्जनको मापन गर्ने

नेपाल प्रफिट

२०८३ भदौ २२, सोमबार १५:३४

कुमारी बैंक ‘पीसीएएफ’मा आबद्ध, अब लगानीबाट हुने कार्बन उत्सर्जनको मापन गर्ने

काठमाडौं । कुमारी बैंक लिमिटेड वित्तीय क्षेत्रबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन तथा व्यवस्थापनसम्बन्धी विश्वव्यापी पहल ‘पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स’मा आबद्ध भएको छ । बैंकले जिम्मेवार बैंकिङ, जलवायु कार्य तथा आफ्ना वित्तीय गतिविधिबाट हुने हरितगृह ग्यास उत्सर्जनप्रति थप पारदर्शिता कायम गर्ने उद्देश्यले उक्त पहलमा सहभागिता जनाएको हो ।

पीसीएएफको सदस्य बनेसँगै कुमारी बैंकले आफ्ना ऋण तथा लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जनको मापन र सार्वजनिक खुलासा गर्न विश्वव्यापी रूपमा मान्यता प्राप्त मापदण्ड तथा विधिहरू प्रयोग गर्ने जनाएको छ। यसबाट बैंकको जलवायुसम्बन्धी तथ्यांक, जोखिम व्यवस्थापन तथा दिगो वित्तसम्बन्धी अभ्यास थप सुदृढ हुने अपेक्षा गरिएको छ ।

न्यून–कार्बन तथा जलवायु उत्थानशील अर्थतन्त्रतर्फको संक्रमणमा वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका रहने भएकाले पीसीएएफमा आबद्ध हुनु बैंकको दिगोपनासम्बन्धी यात्रामा महत्वपूर्ण कदम भएको बैंकले जनाएको छ। यसअन्तर्गत बैंकले आफ्ना लगानी गतिविधिको जलवायु प्रभाव बुझ्ने क्षमता अभिवृद्धि गरी प्राप्त तथ्यांकलाई आगामी वित्तीय निर्णय, जोखिम व्यवस्थापन तथा दिगोपनासम्बन्धी पहलमा प्रयोग गर्ने लक्ष्य लिएको छ ।

पीसीएएफ वित्तीय संस्थाहरूको विश्वव्यापी सहकार्य हो, जसले ऋण तथा लगानीमार्फत हुने हरितगृह ग्यास उत्सर्जनको एकरूप मूल्यांकन तथा खुलासा गर्न सहजीकरण गर्छ। यसको विश्वव्यापी सञ्जालले वित्तीय संस्थालाई लगानीसँग सम्बन्धित उत्सर्जन मापन तथा जलवायु पारदर्शिता सुधारका लागि साझा ढाँचा उपलब्ध गराउँदै आएको छ ।

कुमारी बैंकका दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले पीसीएएफमा आबद्ध हुनु बैंकको दिगोपनाको यात्रामा महत्वपूर्ण कोशेढुंगा भएको बताए। उनका अनुसार वित्तीय गतिविधिसँग सम्बन्धित उत्सर्जन बुझ्न सकेमा जलवायु रणनीति सुदृढ बनाउन, पारदर्शिता बढाउन तथा उत्थानशील र दिगो अर्थतन्त्रतर्फ अघि बढ्न तथ्यमा आधारित निर्णय लिन सहयोग पुग्नेछ ।

बैंकले दिगो वित्तका अवसर विस्तार गर्दै आफ्नो सञ्चालन तथा वित्तीय गतिविधिमा वातावरणीय र जलवायुसम्बन्धी पक्षलाई थप एकीकृत गर्ने जनाएको छ। साथै, नेपालको दीर्घकालीन जलवायु तथा विकास प्राथमिकतामा योगदान पुर्‍याउन सरोकारवालासँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

देशभर व्यापक उपस्थिति रहेको कुमारी बैंकका २७९ शाखा, २८६ एटीएम, ४१ एक्सटेन्सन काउन्टर, ४० शाखारहित बैंकिङ एकाइ तथा १ हजार २३३ पीओएस टर्मिनल सञ्चालनमा छन्। बैंकले डिजिटल बैंकिङ, मोबाइल बैंकिङ तथा अन्तर्राष्ट्रिय भिसा कार्ड सेवासमेत उपलब्ध गराउँदै आएको जनाएको छ ।

ग्राहककेन्द्रित नवप्रवर्तन, जिम्मेवार बैंकिङ तथा दिगो वित्तमा केन्द्रित हुँदै आएको बैंकले नेपालमा दीर्घकालीन आर्थिक रूपान्तरणमा आफ्नो भूमिका थप सुदृढ गर्ने जनाएको छ । आफ्ना उत्पादन, जनशक्ति तथा रणनीतिक साझेदारीमार्फत दिगोपनाप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै समावेशी तथा जिम्मेवार वित्तीय समाधान प्रवर्द्धन गर्ने बैंकको भनाइ छ ।

सन् २०१९ को सेप्टेम्बरमा विश्वव्यापी रूपमा स्थापना भएको पीसीएएफमा हाल ७०० भन्दा बढी वित्तीय संस्था आबद्ध भइसकेका छन् । यस पहलमा सहभागी वित्तीय संस्थाहरूले संयुक्त रूपमा वित्तीय क्षेत्रका लागि विश्वव्यापी हरितगृह ग्यास लेखांकन तथा प्रतिवेदन मापदण्ड विकास र कार्यान्वयन गर्दै आफ्ना ऋण तथा लगानीमार्फत हुने हरितगृह ग्यास उत्सर्जनको मापन तथा खुलासा गर्ने गरेका छन् ।

सम्बन्धित समाचार