काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी बाढीपीडितका लागि १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
भदौ १० गते केरुङ, रसुवा, टिमुरेलगायत क्षेत्रमा आएको आकस्मिक तथा भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी नाडाले सहयोग उपलब्ध गराएको हो।
नाडाले नगद सहयोगसँगै बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा पुगेर प्रभावित नागरिकको तत्कालीन आवश्यकता पहिचान गरी राहत सामग्रीसमेत वितरण गर्दै आएको जनाएको छ। नाडाको टोलीले सम्बन्धित क्षेत्रमा पुगेर खाद्यान्न तथा आवश्यक सामग्रीलगायत राहत सामग्री वितरण गर्दै विपद्को कठिन समयमा प्रभावित परिवारलाई सहयोग गरिरहेको छ।
नाडाले विपद्को कठिन घडीमा बाढीबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत नगद सहयोगसँगै प्रत्यक्ष राहत तथा मानवीय सहयोगलाई निरन्तरता दिएको जनाएको छ।
प्रभावित नागरिकको पीडामा साथ दिँदै आवश्यक सहयोग पुर्याउनु आफ्नो सामाजिक दायित्व भएको नाडाले जनाएको छ। बाढीबाट प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउन आगामी दिनमा समेत निरन्तर पहल गर्ने प्रतिबद्धता नाडाले व्यक्त गरेको छ।
चेक हस्तान्तरण कार्यक्रममा नाडाका उपाध्यक्ष विक्रम सिंह घातानिया, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल तथा सहकोषाध्यक्ष निर्मलण पाठकलगायतको उपस्थिति रहेको थियो।