• Menu

भारतको मेदान्ता अस्पतालको सहकार्यमा सिटिजन्स बैंकको वेबिनार, ४४६ कर्मचारी सहभागी

नेपाल प्रफिट

२०८३ भदौ १८, बिहीबार १३:३४

भारतको मेदान्ता अस्पतालको सहकार्यमा सिटिजन्स बैंकको वेबिनार, ४४६ कर्मचारी सहभागी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना कर्मचारीको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै मुटु तथा रक्तनलीसम्बन्धी रोगको रोकथामसम्बन्धी सचेतनामूलक वेबिनार आयोजना गरेको छ।

बैंकले भारतको मेदान्ता-द मेडिसिटी अस्पताल, गुरुगाउँसँगको सहकार्यमा आयोजना गरेको उक्त कार्यक्रमको उद्देश्य कर्मचारीलाई मुटु तथा रक्तनलीसम्बन्धी रोग, यसको रोकथाम तथा स्वस्थ जीवनशैली अपनाउने महत्वबारे आवश्यक जानकारी प्रदान गर्नु रहेको थियो ।

‘मुटु तथा रक्तनलीसम्बन्धी रोगको रोकथाम’ विषयमा भदौ १६ गते मंगलबार आयोजना गरिएको कार्यक्रममा ३५ वर्ष वा सोभन्दा माथिका कर्मचारीलाई लक्षित गरिएको थियो। कार्यक्रममा मेदान्ता-द मेडिसिटी अस्पताल, भारतअन्तर्गत मुटु उपचार सेवाका उपाध्यक्ष तथा मुटु रोग विशेषज्ञ डा. मनिष बन्सलले स्रोत व्यक्तिका रूपमा सहजीकरण गरेका थिए ।

कार्यक्रममा मुटु तथा रक्तनलीसम्बन्धी रोगका प्रमुख जोखिम तत्व, रोगबाट बच्ने उपाय, समयमै स्वास्थ्य परीक्षण गर्नुपर्ने आवश्यकता तथा दैनिक जीवनमा स्वस्थ बानी र जीवनशैली अपनाउनुको महत्वबारे जानकारी दिइएको थियो ।

त्यसैगरी, नियमित शारीरिक व्यायाम, सन्तुलित आहार, तनाव व्यवस्थापन तथा स्वस्थ जीवनशैलीमार्फत मुटुको स्वास्थ्य सुरक्षित राख्न सकिने विषयमा समेत सहभागीलाई सचेत गराइएको थियो ।

बैंकका ३५ वर्ष वा सोभन्दा माथिका कुल ४४६ जना कर्मचारीले उक्त अनलाइन सचेतनामूलक कार्यक्रममा सक्रिय सहभागिता जनाएका थिए। कर्मचारीमा स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्दै दीर्घकालीन स्वास्थ्य सुरक्षामा योगदान पुर्‍याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रम प्रभावकारी तथा अन्तरक्रियात्मक रहेको बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना कर्मचारी, ग्राहक तथा अन्य सरोकारवालाको स्वास्थ्य र कल्याणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

यसैबीच, बैंकका ग्राहकलाई उपचारका क्रममा थप सहज सेवा उपलब्ध गराउने उद्देश्यले बैंकका कार्डवाहक ग्राहकलाई मेदान्ता अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट उपलब्ध गराइएको बैंकले जनाएको छ ।

विश्वका प्रतिष्ठित बैंकहरूको सूचीमा पर्ने अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल बैंकले यसअघि नै फोनेपसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनेपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको थियो ।

सिटिजन्स बैंक इन्टरनेसनलले हाल देशभरका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटिएम, ३ विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ एकाइमार्फत २० लाख ६० हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।