• Menu

हेटौंडाबाट दैनिक १०० ट्रक एलपी ग्यास काठमाडौं पठाइने

नेपाल प्रफिट

२०८३ भदौ १८, बिहीबार १३:२५

हेटौंडाबाट दैनिक १०० ट्रक एलपी ग्यास काठमाडौं पठाइने

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा देशका विभिन्न स्थानमा भएको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दुःख व्यक्त गर्दै प्रभावित नागरिकलाई राहत तथा अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन पहल थालेको जनाएको छ।

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा काठमाडौं उपत्यकामा एलपी ग्यास बोकेका बुलेट प्रवेश गर्न नसकेपछि केही दिनयता ग्यास अभाव देखिएको थियो। भदौ १० गते आएको बाढीका कारण करिब दुई दिनसम्म सडकमा लेदो जमेर यातायात प्रभावित भएको थियो भने त्यसपछि कृष्णभीर क्षेत्रमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध रहेको मन्त्रालयले जनाएको छ।

ग्यास अभावका कारण उपभोक्ताले दैनिक जीवनमा कठिनाइ भोग्नुपरेको अवस्थाप्रति मन्त्रालय गम्भीर र संवेदनशील रहेको जनाएको छ। समस्या समाधानका लागि मन्त्रालयले नेपाल आयल निगम, एलपी ग्यास उद्योगी तथा व्यवसायी र सम्बन्धित निकायसँग निरन्तर संवाद, समन्वय तथा सहजीकरण गरिरहेको छ।

मन्त्रालयका अनुसार आजदेखि हेटौंडाबाट दैनिक १०० ट्रक भरिएको एलपी ग्यास वैकल्पिक सडकमार्फत काठमाडौं उपत्यकामा पठाएर वितरण गर्ने व्यवस्था सुरु गरिएको छ। पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा नआएसम्म हेटौँडाबाट वैकल्पिक मार्ग हुँदै ग्यास आपूर्ति गर्ने व्यवस्था निरन्तर कायम राखिनेछ।

नेपाल आयल निगम तथा एलपी ग्यास व्यवसायीसँगको निरन्तर संवाद र सहकार्यबाट काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव आगामी केही दिनभित्र क्रमशः समाधान हुने मन्त्रालयले विश्वास व्यक्त गरेको छ।

नागरिकको आधारभूत आवश्यकतासँग जोडिएको ग्यास आपूर्तिमा कमी हुन नदिन तथा आपूर्ति व्यवस्थालाई सहज, नियमित र प्रभावकारी बनाउन आवश्यक सबै पहल भइरहेको मन्त्रालयले जनाएको छ ।

यसैबीच, मन्त्रालयले भोटेकोशी नदीसहित देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ। साथै, विपद्का कारण घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।