• Menu

रसुवा बाढीमा सम्पर्कविहीन ४५ सैनिकका परिवारसँग समन्वय गर्न नेपाली सेनाद्वारा ‘हेल्प डेस्क’ सञ्चालन

नेपाल प्रफिट

२०८३ भदौ १८, बिहीबार १२:५९

रसुवा बाढीमा सम्पर्कविहीन ४५ सैनिकका परिवारसँग समन्वय गर्न नेपाली सेनाद्वारा ‘हेल्प डेस्क’ सञ्चालन
तस्बिर : नेपाली सेना

काठमाडौं । नेपाली सेनाले कर्तव्य पालनाको सिलसिलामा रसुवास्थित भोटेकोशी बाढीका कारण सम्पर्कविहीन भएका सैनिकका परिवारजनसँग समन्वय गर्ने ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ ।

सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बाढीमा हराइरहेका सैनिकका परिवारजनसँग सम्पर्क भइसकेको राससलाई जानकारी दिए । यही भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी लाङ्टाङ राष्ट्रिय निकुञ्ज र सो क्षेत्रमा रहेका जलविद्युत आयोजनाको सुरक्षार्थ खटिइएका ४५ जना सैनिक हराइरहेका छन् ।

हराइरहेका सैनिकको खोजी निरन्तर भइरहेको सेनाले जनाएको छ । रसुवाको टिमुरेदेखि नवलपुरसम्म खटिइएका सैन्य टोलीलाई हराइरहेका नागरिक र सैनिकका बारेमा जानकारी दिइ खोज तथा उद्धारमा केन्द्रित गराइएको जङ्गी अड्डाले जनाएको छ ।