काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको सहायक कम्पनी एनआईबीएल एसेट क्यापिटल लिमिटेडद्वारा व्यवस्थित एनआईबीएल इक्विटी पार्टनर्सले नेपालको पहिलो एआई प्रविधिमा निर्मित चलचित्र ‘लस्ट इन मण्डला’ मा लगानी गर्ने भएको छ।
इक्विटी पार्टनर्स र इन्सेन्ट रेन स्टुडियोजले विश्वभरका दर्शकलाई लक्षित गरी नेपालमै निर्माण भइरहेको मौलिक चलचित्रमा लगानीका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। उक्त लगानीले नेपालमा चलचित्र निर्माण तथा यससँग सम्बन्धित विभिन्न गतिविधिलाई सहयोग पुग्ने एनआईबीएल इक्विटी पार्टनर्सले जनाएको छ।
इन्सेन्ट रेन स्टुडियोजले ‘लस्ट इन मण्डला’ चलचित्रको सह–निर्माणका लागि स्थापना भएको लस्ट इन मण्डला एलएलसीसँगको सहकार्यमा परियोजनामा काम गरिरहेको छ। प्रस्तावित सम्झौताअनुसार एनआईबीएल इक्विटी पार्टनर्सले इन्सेन्ट रेन स्टुडियोजसँग १० करोड रुपैयाँसम्म लगानी गर्ने योजना बनाएको छ।
एनआईबीएल एसेट क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाण्डेका अनुसार यो साझेदारीले नेपालको चलचित्र उद्योगलाई प्रोत्साहन गर्नुका साथै विश्व रंगमञ्चमा नेपाली मौलिक कला तथा बौद्धिक सम्पत्तिलाई स्थापित गर्ने उद्देश्य राखेको छ।
उनले नेपाली सिर्जनशील क्षेत्रमा रहेको विश्वव्यापी सम्भावनालाई प्रवद्र्धन गर्न मौलिक कला तथा बौद्धिक सम्पत्तिलाई सहयोग गर्नु आवश्यक रहेको बताए। ‘लस्ट इन मण्डला’ महत्वपूर्ण तथा मौलिक परियोजना रहेको उल्लेख गर्दै उनले यसको निर्माणमा देशभित्रबाट हुने स्थानीय सहयोगले महत्वपूर्ण भूमिका खेल्ने बताए।
एनआईबीएल एसेट क्यापिटलले यसअघि पनि ‘लस्ट इन मण्डला’लाई सहयोग गरिसकेको जनाएको छ। परियोजनाका लागि कोष संकलनका क्रममा समेत क्यापिटलले साथ दिएको थियो। यसैगरी, क्यापिटलले आयोजना गरेको एक विशेष समारोहमा आमन्त्रित सहभागी तथा लगानीकर्तालाई ‘लस्ट इन मण्डला’ औपचारिक रूपमा प्रस्तुत गरिएको थियो।
‘लस्ट इन मण्डला’ एआई प्रविधिको प्रयोग गरी निर्माण भइरहेको चलचित्र हो। यसको सिर्जना तथा निर्देशन किरण भट्ट जोशीले गरेका छन् भने चलचित्रकी निर्माता दीपा चिपालु जोशी हुन्।
चलचित्र हिमालय क्षेत्रका आध्यात्मिक परम्परा, पौराणिक कथा तथा मनमोहक प्राकृतिक दृश्यबाट प्रेरित रहेको जनाइएको छ। नेपाली कथालाई विश्व दर्शकमाझ पुर्याउने उद्देश्यसहित निर्माण भइरहेको चलचित्रले विश्वस्तरीय चलचित्र माध्यममार्फत अपनत्व, मित्रता, करुणा तथा आत्म–अन्वेषणजस्ता विषयलाई प्रस्तुत गर्नेछ।
चलचित्रको पटकथा ‘थोर’, ‘एक्स-मेनः फर्स्ट क्लास’, ‘जुरासिक वर्ल्डः क्याम्प क्रेटासियस’ लगायत चलचित्र तथा श्रृंखलामा काम गरिसकेका प्रसिद्ध पटकथा लेखक ज्याक स्टेन्जेलले लेखेका हुन्।
यस साझेदारीसँगै एनआईबीएल इक्विटी पार्टनर्सले ‘लस्ट इन मण्डला’को निर्माणमा निरन्तर सहयोग गर्ने तथा चलचित्रलाई विश्वभरका दर्शकमाझ पुर्याउन सहकार्य गर्ने लक्ष्य राखेको जनाएको छ।