काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बागमती प्रदेशको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा दुई करोड २२ लाख २२ हजार २ सय २ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बैंकले सोमबार, भदौ २२ गते काठमाडौंमा आयोजित एक समारोहबीच उक्त सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्य दिग्विजय विष्ट तथा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललगायतको उपस्थिति रहेको थियो।
बैंकले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। बाढीबाट प्रभावित नागरिकलाई राहत पुर्याउने उद्देश्यले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा गरिएको बैंकले जनाएको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ। यसै क्रममा स्वास्थ्य शिविर सञ्चालन, सामुदायिक विद्यालय, वृद्धाश्रम तथा अनाथालयलाई आर्थिक सहयोगलगायतका सामाजिक कार्यमा समेत बैंक सक्रिय रहँदै आएको छ।
यसैगरी, बाढीका कारण बैंकको देवीघाट शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको जनाइएको छ। तत्काल राहत पुर्याउने उद्देश्यले बैंकले नुवाकोटको विदुर नगरपालिका-५ मा चामल, दाल, पिठो, बिस्कुट, तेल, नुन, सोयाबिन, आलु, चाउचाउलगायत खाद्यान्न सामग्री वितरण गरेको छ।
विश्वकै प्रतिष्ठित बैंक अफ द इयरको उपाधि सन् २०२४ र २०२५ मा प्राप्त गर्न सफल भएको बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको जनाएको छ।
बैंकका अनुसार देशभरका ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ एकाइमार्फत करिब २० लाख ६० हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।