एजेन्सी । दक्षिण कोरियाको सियोल परिवार अदालतले भिडियो गेम कम्पनी स्माइलगेटका संस्थापक क्वोन ह्युक-बिनलाई सम्बन्धविच्छेदका क्रममा पूर्वपत्नीलाई २० खर्ब वन अर्थात् एक अर्ब ५० करोड अमेरिकी डलरभन्दा बढी रकम तिर्न आदेश दिएको छ। अदालतले क्वोनलाई कम्पनीको ३५ प्रतिशत सेयरसमेत पूर्वपत्नीलाई हस्तान्तरण गर्न आदेश दिएको छ।
अदालतले क्वोन र उनकी पत्नीबीचको सम्बन्धविच्छेद स्वीकृत गर्दै करिब २५ खर्ब वन मूल्य बराबरको सेयर तथा ६५ अर्ब वन नगद हस्तान्तरण गर्न आदेश दिएको हो।
स्थानीय सञ्चारमाध्यमका अनुसार क्वोनकी पूर्वपत्नी लीले सन् २०२२ मा सम्बन्धविच्छेदका लागि निवेदन दिँदै स्माइलगेटमा आधा हिस्सेदारी दाबी गरेकी थिइन्। कम्पनी स्थापना तथा प्रारम्भिक व्यवस्थापनमा आफूले योगदान गरेको र घरेलु काममार्फत समेत सहयोग गरेकाले कम्पनीको सम्पत्तिमा हिस्सा पाउनुपर्ने उनको दाबी थियो।
क्वोनले सन् २००२ मा स्माइलगेट स्थापना गरेका थिए। उनको कुल सम्पत्ति करिब ८० खर्ब वन रहेको बताइएको छ।
अदालतले सम्बन्धविच्छेदका लागि दुवै पक्षलाई समान रूपमा जिम्मेवार ठहर गरेको छ। यद्यपि, लीले माग गरेको थप क्षतिपूर्ति भने अदालतले अस्वीकार गरेको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार क्वोनले ली कम्पनीकी सहसंस्थापक नभएको र व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न नरहेको दाबी गर्दै सम्बन्धविच्छेदको विरोध गरेका थिए।
यसअघि एसके समूहका अध्यक्ष चे ताई–विनलाई पनि पूर्वपत्नी रोह सोह-योङलाई ६६ करोड ६० लाख अमेरिकी डलर तिर्न आदेश दिइएको थियो। सियोल उच्च अदालतले गत जुलाईमा वैवाहिक सम्पत्तिमा रोहको हिस्सा निर्धारण गर्दै उक्त फैसला सुनाएको थियो। चेले फैसलाविरुद्ध सर्वोच्च अदालतमा अपिल गरेका छन्।
क्वोनको फैसलाले दक्षिण कोरियामा ठूला प्रविधि तथा गेमिङ व्यवसायसँग सम्बन्धित सम्पत्तिमा सम्बन्धविच्छेदपछि पति–पत्नीको अधिकारबारे बहसलाई थप चासोको विषय बनाएको छ।