• Menu

अमेरिका-इरान सैन्य तनावले होर्मुज जलघाँटी तनावग्रस्त, विश्व बजारमा कच्चा तेलको मूल्य ह्वात्तै बढ्यो

नेपाल प्रफिट

२०८३ भदौ २४, बुधबार १६:१७

अमेरिका-इरान सैन्य तनावले होर्मुज जलघाँटी तनावग्रस्त, विश्व बजारमा कच्चा तेलको मूल्य ह्वात्तै बढ्यो

एजेन्सी । इरान र संयुक्त राज्य अमेरिकाबीच होर्मुज जलघाँटीलाई लिएर सैन्य तनाव चर्किएपछि विश्व बजारमा तेल आपूर्ति प्रभावित हुने जोखिम बढेको छ। इरानले आफ्ना तेल ट्यांकरमाथि अमेरिकी आक्रमणको जवाफमा अमेरिकी सैन्य तथा सहयोगी राष्ट्रका लक्ष्यमा नयाँ आक्रमण थालेको हो।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड्सले बुधबार होर्मुज जलघाँटी पार गर्न खोजिरहेका २० अमेरिकी जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ। विश्वको तेल तथा तरलीकृत प्राकृतिक ग्यासको करिब पाँचौँ हिस्सा ओसारपसार हुने यो जलमार्गमा युद्ध सुरु भएयता इरानले कडाइ गर्दै आएको छ।

जलघाँटी प्रयोग गर्न अनुमति लिनुपर्ने तथा पारवहन शुल्क तिर्नुपर्ने व्यवस्थाका कारण अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिमा असर परेको बताइएको छ।

अमेरिकी सेनाले एक दिनअघि पाँचवटा इरानी तेल ट्यांकर नष्ट गरेपछि जवाफी कारबाही गरिएको इरानी गार्डले जनाएको छ। गार्डका अनुसार जोर्डनस्थित अल-अजराक अमेरिकी हवाई अड्डामा समेत क्षेप्यास्त्र प्रहार गरिएको थियो। जोर्डनको सेनाले भने इरानबाट प्रहार गरिएका १८ वटा क्षेप्यास्त्र खसालेको जनाएको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले अमेरिकी नौसैनिक जहाजमाथि आक्रमण वा आक्रमणको प्रयास जारी राखे हरेकपटक उसका तेल ट्यांकर नष्ट गरिने चेतावनी दिएका छन्। इरानले पनि आफ्ना ट्यांकरमाथि आक्रमण भए अमेरिकी सहयोगी कुवेत र बहराइनमा रहेका तेल ट्यांकरलाई निशाना बनाउने चेतावनी दिएको छ।

बढ्दो तनावसँगै एसियाली बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९९.४६ अमेरिकी डलर तथा वेस्ट टेक्सास इन्टरमिडियटको मूल्य ९४.४५ डलर पुगेको छ। मध्यपूर्वबाट तेल आपूर्ति अवरुद्ध हुनसक्ने आशंकाले कच्चा तेलको मूल्य बढेको हो।

यसैबीच, इरानी गार्डले होर्मुज जलघाँटीमा अमेरिकी मानवरहित पनडुब्बी ड्रोन नियन्त्रणमा लिएको दाबी गरेको छ। अमेरिकी सेनाले भने उक्त ड्रोन पुरानो मोडेलको र संवेदनशील सूचना नभएको जनाएको छ।

इरानी सरकारी टेलिभिजनले दुई अमेरिकी विध्वंसक पानीजहाजमाथि ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरिएको दाबी गरे पनि अमेरिकी सेनाले यसबारे तत्काल प्रतिक्रिया जनाएको छैन।

होर्मुज जलघाँटीमा जारी गतिरोधले इरान-अमेरिका सैन्य द्वन्द्व थप गहिरिनुका साथै विश्वव्यापी ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा समेत गम्भीर असर पर्नसक्ने चिन्ता बढाएको छ।

सम्बन्धित समाचार