• Menu

बाढी प्रभावित क्षेत्रमा एनसेलले स्याटलाइटमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै, नुवाकोटका तीन स्थानमा जडान

नेपाल प्रफिट

२०८३ भदौ २३, मंगलबार १७:२२

बाढी प्रभावित क्षेत्रमा एनसेलले स्याटलाइटमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै, नुवाकोटका तीन स्थानमा जडान

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई सहज बनाउन एनसेलले उपग्रह प्रविधिमा आधारित इन्टरनेट सेवा उपलब्ध गराउन थालेको छ ।

आपत्कालीन अवस्थामा समेत सञ्चार सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले एनसेलले युटेलस्याटको निम्न भू-कक्षीय उपग्रहबाट सञ्चालित उपकरणहरू बाढी प्रभावित क्षेत्रमा जडान गर्न थालेको हो। उद्धार, राहत तथा पुनर्स्थापनामा संलग्न सरकारी निकायसँग समन्वय गरी पहिचान गरिएका महत्वपूर्ण तथा आवश्यक स्थानमा उपकरण जडान भइरहेको कम्पनीले जनाएको छ ।

सञ्चार सञ्जाल अवरुद्ध भएको अवस्थामा समेत उपग्रहको माध्यमबाट इन्टरनेट सेवा उपलब्ध गराउने यो प्रविधि बाढी प्रभावित समुदाय, आश्रयस्थल, राहत वितरण केन्द्र, अस्थायी शिविर तथा आपत्कालीन कार्य सञ्चालन भइरहेका स्थानमा प्रयोग गरिनेछ ।

कम्पनीका अनुसार हालसम्म नुवाकोटका तीन महत्वपूर्ण स्थानमा यो प्रविधिमार्फत सेवा उपलब्ध गराइसकिएको छ भने बाढी प्रभावित अन्य स्थानमा पनि उपकरण जडान गर्ने कार्य जारी छ । हालको अवस्थामा उक्त स्थानमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइनेछ ।

उपग्रह प्रविधिमा जमिनमा जडान गरिएको उपकरणले उपग्रहबाट इन्टरनेट संकेत प्राप्त गर्छ। त्यसपछि सो उपकरणले वरपरका क्षेत्रमा अर्को उपकरणमार्फत ताररहित इन्टरनेट सेवा उपलब्ध गराउँछ । सामान्य इन्टरनेट तथा मोबाइल सेवा सञ्चालन हुन नसकेको अवस्थामा समेत यस प्रविधिबाट इन्टरनेट सेवा उपलब्ध गराउन सकिने कम्पनीले जनाएको छ ।

यस प्रविधिले उच्च गति र न्यून विलम्बतासहितको इन्टरनेट सेवा उपलब्ध गराउने भएकाले सन्देश आदानप्रदान, इन्टरनेटमार्फत कुराकानी, महत्वपूर्ण सूचना प्राप्त गर्न, सूचना खोज्न तथा राहत कार्यको समन्वय गर्न प्रयोग गर्न सकिनेछ ।

एनसेलले यो सेवा सञ्चालनका लागि नेपाल दूरसञ्चार प्राधिकरणलगायत सम्बन्धित सरकारी निकायबाट आवश्यक स्वीकृति प्राप्त गरिसकेको जनाएको छ ।

एनसेलका प्रमुख कर्पोरेट तथा नियामक अधिकृत डिल्ली राम श्रेष्ठले सडक पूर्वाधार र सञ्चार सेवा गम्भीर रूपमा प्रभावित भएको नुवाकोटका तीन स्थानमा उपग्रह सञ्चार पहुँच स्थापना गरिएको बताए  ।

‘यसले उद्धार तथा राहत कार्यलाई सहज बनाउनुका साथै प्रभावित स्थानीयवासीलाई यो कठिन समयमा एकअर्कासँग सम्पर्कमा रहन मद्दत गर्नेछ,’ उनले भने ।

बाढी आएको पहिलो दिनदेखि नै एनसेलले प्रभावित क्षेत्रका तीन लाखभन्दा बढी ग्राहकलाई दैनिक निःशुल्क भ्वाइस, डाटा तथा एसएमएस सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।

त्यस्तै, एनसेल फाउन्डेसनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक करोड रुपैयाँ आर्थिक सहयोगसमेत प्रदान गरिएको छ ।

आपत्कालीन अवस्थामा प्रभावित नागरिक, उद्धारकर्मी तथा सरकारी निकायबीच सम्पर्क कायम राख्न सञ्चार सेवा महत्वपूर्ण हुने भएकाले उपग्रह प्रविधिमार्फत इन्टरनेट सेवा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

सडक अवरुद्ध, दूरसञ्चार संरचना तथा तार क्षतिग्रस्त भएको अवस्थामा समेत सञ्चार सम्पर्क कायम राख्न सकिने भएकाले विपद्को समयमा यस्तो प्रविधि महत्वपूर्ण हुने एनसेलको भनाइ छ ।