बाँके । लुम्बिनी प्रदेश सरकारले बाँके जिल्लामा संघीयता कार्यान्वयन भएयता १५ वटा पक्की पुल निर्माण गरेको छ ।
पुल निर्माणसँगै ग्रामीण तथा दुर्गम क्षेत्रका हजारौँ स्थानीयवासीको आवागमन सहज भएको प्रदेश भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको सडक पूर्वाधार विकास कार्यालय, बाँकेले जनाएको छ । उक्त कार्यालयका प्रमुख चन्द्रबहादुर शाहका अनुसार निर्माण सम्पन्न बाहेक दुई वटा निर्माणाधीन पुल अन्तिम चरणमा छन् भने थप दुई वटा पुल निर्माणका लागि बहुवर्षीय ठेक्कासमेत आह्वान भइसकेको छ ।
उनका अनुसार बैजनाथ गाउँपालिका-६ स्थित जेठी नाला र कोहलपुर नगरपालिका-१३ को गेरुवा खोलामा पुल निर्माण भइरहेको छ । स्थानीय आवश्यकता र मागका आधारमा प्रदेश सरकारले पुल निर्माणलाई प्राथमिकतामा राखेको छ । ‘स्थानीयको आवश्यकता र मागलाई आधार बनाएर पुल निर्माणका योजना छनोट गरी कार्यान्वयन गरिरहेका छौँ,’ कार्यालय प्रमुख शाहले भने, ‘पुल निर्माण सम्पन्न भएपछि वर्षायाममा समेत आवागमनमा सहजता भएको छ ।’
कार्यालयका अनुसार डुडुवा नाला, जेठी नाला, किरण नाला, गौरी नाला, गेरुवा नाला, गडगैचा नाला, गन्धैला नाला, दोन्द्रा नाला र रोहिणी खोलामा पुल निर्माण भएको छ । जेठी नालाअन्तर्गत चार वटा पुल निर्माण पूरा भइसकेको छ भने सोही क्षेत्रमा एचगाउँमा अर्को पक्की पुल निर्माणाधीन छ । यस अवधिमा खजुरा गाउँपालिका-२ सिगाउँस, खजुरा-४ चल्तुवा-सिर्जनाटोल तथा साइगाउँमा पक्की पुल निर्माण गरिएको छ ।
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रत्न खत्रीले प्रदेश सरकार गठनपछि पुल निर्माणको क्षेत्रमा उल्लेख्य प्रगति भएको बताए । उनले प्रदेशका विभिन्न जिल्लामा दर्जनौँ पुल निर्माण भएपछि यातायात सञ्चालनमा सहजता आएको उल्लेख गरे ।
मन्त्री खत्रीले भने, ‘पुल निर्माणसँगै नागरिकको आवागमन र सवारीसाधन सञ्चालनमा सहजता भएको र प्रदेश सरकारले पुलसँगै सडक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।’