काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि यशोदा ग्रुपअन्तर्गतका यशोदा फुड्स प्रा.लि. र श्रीराम टोबाको प्रा.लि.ले ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
कम्पनीहरूले उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग गरेका हुन् । सहयोग रकमको चेक यशोदा ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्न प्रसाद शर्माले संयुक्त रूपमा नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवालगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको राहत तथा पुनरुत्थानमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गरिएको कम्पनीले जनाएको छ।
यसैगरी, यशोदा फुड्सले बाढीबाट अति प्रभावित रसुवा, नुवाकोट र धादिङ लगायतका क्षेत्रमा थप राहत सामग्रीका रूपमा ३० लाख रुपैयाँ बराबरको ‘करेन्ट’ चाउचाउ वितरण गरेको जनाएको छ ।
कम्पनीका अनुसार प्रभावित क्षेत्र तथा पीडितहरूलाई राखिएका आश्रयस्थलमा अत्यावश्यक खाद्य सामग्रीका रूपमा चाउचाउ पठाई सम्बन्धित निकायमार्फत तथा प्रत्यक्ष रूपमा प्रभावित नागरिकलाई वितरण गरिएको थियो। आवश्यकता अनुसार आगामी दिनमा पनि थप चाउचाउ तथा अन्य राहत सामग्री उपलब्ध गराउन कम्पनी तयार रहेको जनाएको छ ।
यशोदा ग्रुप इण्डस्ट्रिज प्रा.लि.ले विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि आवश्यक पर्ने अन्य सहयोग गर्नसमेत आफू पूर्ण रूपमा तयार र प्रतिबद्ध रहेको जनाएको छ ।
कम्पनीले विपद्का समयमा प्रभावित समुदायलाई सहयोग गर्नु आफ्नो सामाजिक दायित्व भएको उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यकताअनुसार सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।