रूपन्देही । भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली, मृतकको आत्माको चिरशान्ति तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विश्व शान्तिधाम लुम्बिनीले तीनदिने विश्वशान्ति पूजा गर्ने भएको छ।
विश्वशान्ति, अहिंसा, परोपकार तथा बुद्धधर्मको पक्षमा क्रियाशील संस्थाले विभिन्न धार्मिक संघसंस्थाको सहयोगमा भोटेकोशी नदीमा बाढी गएको २१औँ पुण्यतिथिका अवसरमा भदौ २९ देखि ३१ गतेसम्म काठमाडौंको बौद्ध स्तूपा परिसरमा विश्वशान्ति पूजा गर्न लागेको जनाएको छ।
पूजा कार्यक्रम बिहान ७ः३० देखि १०ः०० बजेसम्म सञ्चालन हुने जनाइएको छ। सो अवसरमा पूजाआजा, दीप प्रज्वलन तथा शान्ति प्रार्थनाका कार्यक्रम गरिनेछन्।
विपद्बाट प्रभावित परिवारको सुख, शान्ति र कल्याणको कामनासमेत गरिने उक्त विश्वशान्ति पूजामा बौद्धनाथ क्षेत्र विकास समिति, काठमाडौं महानगरपालिका-६ नं वडा कार्यालय, बौद्ध तामाङ कल्याण गुठी, ओम तामाङ सुखदुःख सेवा गुठी, छ्योर्तेन टासी तामाङ गुम्बा, नेपाल बौद्ध शान्ति समाज, नेपाल बोन बुद्धिस्ट महासंघ, विश्व बुद्धिस्ट मञ्च नेपाल, नेपाल तामाङ घेदुङ, रसुवा तथा अन्य संघसंस्थाको सहयोग एवं सहभागिता रहनेछ।
शान्तिका पक्षमा हुने आध्यात्मिक तथा सामाजिक अभियानमा सक्रिय श्याल्पा रिन्पोछेले भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट बुद्धभूमि नेपालमा जनधनको ठूलो क्षतिसहित अपूरणीय नोक्सानी भएकामा दुःख व्यक्त गरे।
उनले बाढीप्रभावितको पक्षमा विश्वशान्ति पूजा आयोजना गर्न लागेको बताए। अहिंसाको सन्देशलाई विश्वभर फैलाउन यस्ता आध्यात्मिक गतिविधि महत्वपूर्ण हुने उनको धारणा छ।
मृतकको आत्माको चिरशान्ति, घाइतेको शीघ्र स्वास्थ्यलाभ, परिवारजनप्रति समवेदना तथा सम्पूर्ण मानव समुदायको कल्याणको कामना गर्दै आयोजना गर्न लागिएको धार्मिक अनुष्ठानमा सहभागी हुन उनले सबैसँग अनुरोध गरेका छन्।