काठमाडौं । सुनसरी-४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सिफारिस भएका छन्।
प्रधानमन्त्री बालेन शाहले रिक्त रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्री पदपूर्तिका लागि साहलाई सिफारिस गरेका हुन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय, शीतल निवास पुगिसकेको छ।
संविधानअनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार प्रधानमन्त्री शाहले आजै साहलाई मन्त्रीमा नियुक्तिका लागि सिफारिस गरेका हुन्।
यसअघि आजै गौरीकुमारी यादवले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री पदबाट राजीनामा दिएकी थिइन्। उनको राजीनामापछि मन्त्रालयको मन्त्री पद रिक्त भएको थियो।
राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्री साहको पद तथा गोपनीयताको शपथ आजै साँझ ५ः३० बजे हुने कार्यक्रम छ।