काठमाडौं । सेयर बजार सुधारका लागि सरकारले कार्ययोजना ल्याउने घोषणा गरेसँगै शुक्रबार लगानीकर्ताको मनोबल बढेको छ। दुई कारोबार दिन लगातार ओरालो लागेको बजार शुक्रबार २७.९४ अंकले उकालो लागेको हो ।
शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी सोमबारसम्म सेयर बजार सुधारका लागि कार्यक्रम तथा कार्ययोजना सार्वजनिक गर्ने बताएका थिए । त्यसपछि बजारमा सकारात्मक प्रभाव देखिएको हो ।
नेप्से परिसूचक १.१० प्रतिशतले बढेर २ हजार ५५९ अंकमा पुगेको छ। बजार बढेसँगै कारोबार रकममा समेत सुधार आएको छ। बिहीबार ३ अर्ब ९९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार ४ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ।
शुक्रबार कारोबार भएका कम्पनीमध्ये २३७ वटाको सेयर मूल्य बढेको छ। ३१ कम्पनीको मूल्य घट्दा ९ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।
बजारका सबै समूहगत सूचक हरियाली भएका छन्। जलविद्युत् समूह सबैभन्दा धेरै १.८३ प्रतिशतले बढेको छ। निर्जीवन बीमा १.७२ प्रतिशत, लगानी १.५८ प्रतिशत र व्यापार समूह १.४० प्रतिशतले बढेका छन्।
त्यस्तै विकास बैंक १.०५ प्रतिशत, जीवन बिमा ०.९७ प्रतिशत, होटल तथा पर्यटन ०.९६ प्रतिशत, लघुवित्त ०.८९ प्रतिशत, बैंकिङ ०.७८ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.७७ प्रतिशत, वित्त ०.४६ प्रतिशत र अन्य समूह ०.४२ प्रतिशतले उकालो लागेका छन्।
शुक्रबार उपकार लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १०.५३ प्रतिशतले बढेको छ। अभियान लघुवित्त १०.०९ प्रतिशत, सिन्धु विकास बैंक ९.५४ प्रतिशत, सर्वोत्तम पेन्ट्स ८.०४ प्रतिशत र राप्ती हाइड्रो ६.१८ प्रतिशतले बढेका छन्।
यसैगरी मल्टिपर्पस फाइनान्सको सेयर मूल्य ५.७१ प्रतिशतले घटेको छ। इमर्जिङ नेपाल ४.२१ प्रतिशत र ओम मेगाश्री फर्मास्युटिकल्स ४ प्रतिशतले ओरालो लागेका छन्।
कारोबार रकमका आधारमा शुक्रबार लिबर्टी इनर्जी, एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र शिवश्री हाइड्रोपावर अगाडि रहेका छन्।
अर्थमन्त्रीको बजार सुधारसम्बन्धी घोषणापछि आएको शुक्रबारको वृद्धिलाई लगानीकर्ताले सकारात्मक संकेतका रूपमा लिएका छन्। अब सोमबार सार्वजनिक हुने भनिएको सरकारको कार्ययोजनाले बजारको आगामी दिशामा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ।