• Menu

भोटेकोशी बाढीका २३३ समाचार सामग्रीमा आचारसंहिता उल्लंघन भएको प्रेस काउन्सिलको ठहर

नेपाल प्रफिट

२०८३ भदौ २६, शुक्रबार १६:२५

भोटेकोशी बाढीका २३३ समाचार सामग्रीमा आचारसंहिता उल्लंघन भएको प्रेस काउन्सिलको ठहर

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीमध्ये २३३ वटा पत्रकारिता आचारसंहिता विपरीत रहेको पाइएको छ।

प्रेस काउन्सिल नेपालले बाढीपछिको सञ्चार अनुगमनका क्रममा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित र प्रसारित सामग्रीको अध्ययन गर्दा उक्त संख्यामा आचारसंहिता उल्लंघन भएको जनाएको हो।

काउन्सिलका अनुसार अनुगमनमा पीडितको संवेदनशील अवस्थालाई बेवास्ता गरिएको, अपुष्ट तथा भ्रमपूर्ण सूचना सम्प्रेषण गरिएको, घटनालाई अतिरञ्जित रूपमा प्रस्तुत गरिएको तथा पत्रकारिताका स्थापित मूल्य र मान्यताको पालना नगरिएका सामग्री भेटिएका छन्।

उल्लंघन भएका सामग्रीमध्ये ९१ वटा सञ्चारमाध्यमसँग सम्बन्धित, १०१ वटा गैरसञ्चारमाध्यमसँग सम्बन्धित र ४१ वटा पत्रकारसँग सम्बन्धित रहेको काउन्सिलले जनाएको छ।

काउन्सिलले आचारसंहिताविपरीत देखिएका सामग्री सच्याउन, हटाउन वा आवश्यक सुधार गर्न सम्बन्धित सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई निर्देशन दिएको थियो। तीमध्ये २०७ वटा निर्देशन पालना भइसकेको र १९ वटा निर्देशन अझै पालना हुन बाँकी रहेको विवरणमा उल्लेख छ ।

सम्बन्धित पक्षलाई फोन, सन्देश तथा पत्राचारमार्फत सामग्रीको प्रकृति हेरी आवश्यक सुधार तथा अन्य कदम चाल्न निर्देशन दिइएको काउन्सिलले जनाएको छ ।

अपुष्ट सूचना र पुराना दृश्यको प्रयोग

अनुगमनका क्रममा भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनर्स्थापनासम्बन्धी सूचना प्रवाह गर्ने क्रममा सामाजिक सञ्जालबाट अपुष्ट सूचना तीव्र रूपमा फैलिएको पाइएको छ।

कतिपय सामग्रीमा घटनाको संवेदनशीलतालाई बेवास्ता गर्दै सनसनीपूर्ण दृश्य तथा दाबी प्रस्तुत गरिएको थियो। केही पुराना दृश्यलाई भोटेकोशी बाढीको घटनासँग जोडेर नयाँ घटनाका रूपमा प्रस्तुत गरिएको तथा पुष्टि नभएका दाबीलाई समाचारकै शैलीमा प्रसार गरिएको काउन्सिलले जनाएको छ।

काउन्सिलले सामाजिक सञ्जालबाट प्राप्त सूचना, तस्बिर तथा श्रव्यदृश्यलाई स्वतन्त्र रूपमा तथ्य पुष्टि नगरी समाचारका रूपमा प्रकाशन वा प्रसारण गर्दा गलत सूचना फैलिन सक्ने भन्दै सञ्चारमाध्यम र पत्रकारलाई सचेत गराएको छ।

पीडितको गोपनीयता र मर्यादा कायम गर्न आग्रह

विपद्का बेला समाचार तथा सूचना सम्प्रेषण गर्दा पीडितको मानवीय मर्यादा, गोपनीयता, सुरक्षा र संवेदनशीलतालाई प्राथमिकता दिनुपर्ने काउन्सिलले जनाएको छ।

विशेषगरी बाढी तथा पहिरोबाट प्रभावित व्यक्ति, घाइते, मृतक तथा उद्धारको प्रतीक्षामा रहेका नागरिकका तस्बिर तथा दृश्य प्रयोग गर्दा उनीहरूको सम्मान र व्यक्तिगत गोपनीयताको ख्याल गर्नुपर्नेमा काउन्सिलले जोड दिएको छ।

विपद्का समयमा नागरिकमा त्रास सिर्जना हुने गरी अपुष्ट सूचना फैलाउँदा उद्धार तथा राहत कार्यमै प्रतिकूल असर पर्न सक्ने भएकाले सञ्चारमाध्यमले थप जिम्मेवार र संवेदनशील भूमिका निर्वाह गर्नुपर्ने काउन्सिलको भनाइ छ।