• Menu

एसिसी प्रिमियर कपको फाइनलमा शनिबार नेपाल र युएई भिड्दै, इतिहास दोहोर्‍याउने लक्ष्य

नेपाल प्रफिट

२०८३ भदौ २६, शुक्रबार १६:३६

एसिसी प्रिमियर कपको फाइनलमा शनिबार नेपाल र युएई भिड्दै, इतिहास दोहोर्‍याउने लक्ष्य

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली एसिसी प्रिमियर कपको उपाधि जित्दै इतिहास दोहोर्‍याउने लक्ष्यसहित मैदान उत्रिँदैछ। मलेसियामा जारी तेस्रो संस्करणको प्रतियोगिताअन्तर्गत शनिबार हुने फाइनलमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्नेछ।

फाइनलमा युएईलाई पराजित गर्न सके नेपाल एकदिवसीय ढाँचाको एसिसी प्रिमियर कप लगातार दोस्रोपटक जित्ने पहिलो टोली बन्नेछ।

नेपालले यसअघि सन् २०२३ मा घरेलु मैदानमा भएको पहिलो संस्करणको ५० ओभरको प्रिमियर कपको उपाधि जितेको थियो। त्यतिबेला फाइनलमा युएईलाई सात विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको थियो।

सन् २०२४ मा भने प्रतियोगिता टी-२० ढाँचामा आयोजना गरिएको थियो। ओमानमा भएको उक्त प्रतियोगितामा नेपाल सेमिफाइनलसम्म पुगे पनि चौथो स्थानमा सीमित भएको थियो। यसपटक भने उत्कृष्ट प्रदर्शन गर्दै नेपाल फाइनलमा पुगेको छ।

युएईविरुद्ध फेरि उपाधि भिडन्त

पहिलो संस्करणको फाइनलमै युएईलाई पराजित गरेको नेपाल यसपटक पनि त्यही इतिहास दोहोर्‍याउने योजनामा छ। यता, युएई भने सन् २०२४ मा ओमानलाई पराजित गर्दै जितेको उपाधि रक्षा गर्ने लक्ष्यमा छ।

जारी प्रतियोगितामा युएईले प्रभावशाली प्रदर्शन गरेको छ। समूह चरणका चारवटै खेलमा जित निकालेको युएईले सेमिफाइनलमा हङकङलाई सात विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

नेपालले पनि समूह चरणमा हङकङबाहेकका तीन खेलमा सानदार जित निकालेको थियो। सेमिफाइनलमा ओमानविरुद्ध नेपालको बलिङ अझ प्रभावशाली देखियो। नेपालले १४७ रनको लक्ष्य प्रस्तुत गरे पनि ओमानलाई ६० रनमै समेट्दै ८७ रनको फराकिलो जित निकाल्यो।

नेपालको बलिङ आक्रमण बलियो रहेकाले युएईका लागि फाइनल सहज नहुने आकलन गरिएको छ।

पिच र शीर्षक्रमको प्रदर्शन निर्णायक

नेपाली राष्ट्रिय टोलीका पूर्वक्रिकेटर दीपेन्द्र चौधरीका अनुसार फाइनलमा मलेसियाको पिचको अवस्थाले महत्वपूर्ण भूमिका खेल्न सक्छ।

उनले फाइनल कुन पिचमा खेलाइन्छ भन्ने विषयले खेलको नतिजामा प्रभाव पार्ने बताए। उनका अनुसार सेमिफाइनल खेलिएको पिचमै फाइनल भए नेपाललाई थप फाइदा पुग्न सक्छ।

‘फाइनल हुने मैदानमा धेरै पिच छन्। कुन पिचमा खेल हुन्छ, त्यसले पनि धेरै कुराको निर्भर गर्नेछ। सेमिफाइनल खेलिएकै पिचमा फाइनल पनि खेलाइएमा नेपाललाई धेरै फाइदा मिल्नेछ,’ चौधरीले भने।

स्पिनलाई सहयोग गर्ने पिचमा खेल भए नेपालले जित्ने सम्भावना अझ बलियो हुने उनको विश्लेषण छ। यद्यपि उनले उपाधिका लागि नेपालको शीर्षक्रमका ब्याटरले जिम्मेवार प्रदर्शन गर्नुपर्ने बताए।

उनका अनुसार पछिल्ला केही वर्षमा युएईविरुद्ध नेपाल हाबी भए पनि त्यसकै आधारमा फाइनलको नतिजा अनुमान गर्न नमिल्ने भएकाले नेपालले सुरुवाती ब्याटिङमा राम्रो सुरुआत गर्न आवश्यक छ।

‘नेपालका तर्फबाट शीर्षक्रमका ब्याटरहरूबाट ठूलो पारी देख्न पाइएको छैन। फाइनलमा ओपनिङ जोडी चल्न सके नेपालले उपाधि जित्ने सम्भावना धेरै छ,’ उनले भने।

अनुभवमा नेपाल अगाडि

युएईको टोलीमा तुलनात्मक रूपमा नयाँ खेलाडीको बाहुल्य रहेको र उनीहरूको अन्तर्राष्ट्रिय अनुभव नेपाली खेलाडीको भन्दा कम रहेको चौधरीको भनाइ छ।

‘युएईको टोलीमा धेरैजसो भारतीयमूलका खेलाडी छन्। उनीहरूसँग एसोसियट र अन्तर्राष्ट्रिय क्रिकेट खेलेको त्यति अनुभव छैन। त्यसको फाइदा हामीले उठाउन सक्नुपर्छ,’ उनले भने।

नेपालको बलिङ र फिल्डिङ राम्रो अवस्थामा रहेकाले ब्याटिङमा पनि सुधार गर्न सके उपाधि जित्न सकिने उनको विश्वास छ।

युएईविरुद्ध नेपालको विगत बलियो

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युएईबीच हालसम्म १९ खेल भएका छन् । जसमा नेपालले ११ र युएईले आठ खेल जितेका छन्।

पछिल्ला पाँच एकदिवसीय खेलमा पनि नेपालले युएईविरुद्ध तीन खेल जितेको छ । यी दुई टोलीबीच पछिल्लो भेट गत मे महिनामा भएको आइसिसी विश्वकप लिग-२ शृङ्खलामा भएको थियो।

उक्त खेलमा नेपालले युएईलाई ६ रनले पराजित गरेको थियो । सोही शृङ्खलाको पहिलो खेलमा पनि नेपालले युएईमाथि ३७ रनको जित निकालेको थियो ।

नेपाल अब त्यही लयलाई निरन्तरता दिँदै शनिबार युएईलाई पराजित गरेर एकदिवसीय ढाँचाको एसिसी प्रिमियर कपमा दोस्रोपटक च्याम्पियन बन्ने लक्ष्यमा छ ।

सम्बन्धित समाचार