• Menu

गोकर्णेश्वरमा पितृ सम्मानका लागि पुगे लाखौँ भक्तजन

नेपाल प्रफिट

२०८३ भदौ २६, शुक्रबार १६:४२

गोकर्णेश्वरमा पितृ सम्मानका लागि पुगे लाखौँ भक्तजन

काठमाडौं  । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने पितृ सम्मान मेलामा यस वर्ष भक्तजनलाई आवागमनमा सहज भएको छ।

नेपाल ट्रष्टको जग्गा छेउको पर्खाल भत्काएर बाटो फराकिलो बनाइएपछि माकलबारीतर्फको सडक हुँदै ठूलो संख्यामा भक्तजन मन्दिर तथा वाग्मती नदीकिनारसम्म सहज रूपमा पुग्न सकेका हुन् ।

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा पुगेका भक्तजनले दिवङ्गत पितृका नाममा तर्पण, सिदादान तथा पिण्डदान गरेका छन् । यस वर्ष बाटो फराकिलो भएकाले विगतको तुलनामा मेला व्यवस्थापन र भक्तजनको आवागमन सहज भएको मन्दिर क्षेत्र प्रबन्ध समितिले जनाएको छ ।

काठमाडौं क्षेत्र नं. ३ बाट निर्वाचित सांसद राजुनाथ पाण्डेको अग्रसरतामा नेपाल ट्रष्टको जग्गा छेउको पर्खाल भत्काइएको हो ।

पर्खाल पछाडि सारेर दक्षिणढोका निस्कने बाटो खुलाउन लामो समयदेखि माग हुँदै आएको थियो। गोकर्णेश्वर नगरपालिकाका निर्वाचित नगरप्रमुख सन्तोष चालिसेको कार्यकालदेखि नै उक्त बाटो खोल्न माग भए पनि पर्खाल नभत्किँदा हरेक वर्ष पितृ सम्मान मेलाका क्रममा भक्तजनलाई आवतजावतमा समस्या हुने गरेको थियो ।

पर्खाल भत्काइएपछि यस वर्षको मेला तुलनात्मक रूपमा सहज रूपमा व्यवस्थापन गर्न सकिएको गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष तथा गोकर्णेश्वर नगरपालिका-४ का वडाध्यक्ष जयराम महतले जानकारी दिए ।

देशका विभिन्न स्थानबाट भक्तजन

उत्तरगया भनेर चिनिने गोकर्णेश्वर महादेव मन्दिर परिसरमा पितृ सम्मानका लागि देशका विभिन्न स्थानबाट भक्तजन पुगेका थिए ।

सिन्धुलीबाट आएका रामचन्द्र बरालले विगतका वर्षको तुलनामा यस वर्ष मन्दिर क्षेत्रमा प्रवेश गर्न सहज भएको बताए। बाटो फराकिलो भए पनि माटो व्यवस्थापन नगरिएका कारण हिलो हुँदा केही समस्या भएको उनको भनाइ छ ।

गोकर्णेश्वर क्षेत्रमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्ने भक्तजनको लाम लागेको थियो ।

वैदिक सनातन परम्पराअनुसार भाद्र कृष्ण औँसीका दिन बाबु नहुने व्यक्तिले विभिन्न तीर्थस्थल तथा पवित्र स्थानमा पुगेर दिवङ्गत पिताका नाममा तर्पण, पिण्डदान, श्राद्ध तथा सिदा दिने गर्छन्। यही परम्पराअनुसार ठूलो संख्यामा भक्तजन गोकर्णेश्वर पुगेका हुन् ।

मेलालाई व्यवस्थित बनाउन बुधबारदेखि नै तयारी थालिएको थियो ।

यातायातमा पनि व्यवस्थापन

भक्तजनको चापलाई ध्यानमा राख्दै मेला अवधिभर नेपाल मेडिकल कलेज र माकलबारीस्थित सानो पुल क्षेत्रमै सार्वजनिक यातायात रोकेर मन्दिर क्षेत्रतर्फ सवारी प्रवेशमा रोक लगाइएको थियो ।

यसले मन्दिर क्षेत्रमा हुने सवारी चाप कम गर्न तथा पैदल हिँडेर आउने भक्तजनलाई सहज बनाउन सहयोग पुगेको थियो ।